तिरान, २३ भदौ - अल्बानियामा नागरिकलाई आर्थिक सङ्कटबाट राहत होस भन्ने उद्देश्यले तलब भत्तामा वृद्धि गरिएको छ ।
प्रधानमन्त्री इडि रामाले बिहीबार विषेश प्याकेज घोषणा गर्दै आम नागरिकलाई राहत दिने उल्लेख गर्नु भएको हो ।
विषेश गरेर पछिल्लो समयमा देखिएको मूल्य वृद्धि र उर्जा सङ्कटलाई मध्यनजर गर्दै राहतका कार्यक्रमहरू ल्याइएको उहाँको भनाई छ ।
अहिले घोषणा गरिएको राहतका प्याकेजहरू अन्तरिमकालका लागि मात्रै भएको पनि उहाँले स्पष्ट पार्नु भएको छ ।
“आम नागरिकमा आर्थिक सङ्कट धेरै देखिएकाले तत्कालका लागि राहत होस भन्ने उद्देश्यले अन्तरिम राहतको प्याकेज घोषणा गरिएको हो,” उहाँले भन्नु भएको छ ।
पेन्सन प्रयोग गर्दै आएका जेष्ठ नागरिकहरूलाई भने ९.५ प्रतिशतले वृद्धि गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
अल्बानियामा अहिले छ लाख ७४ हजारभन्दा बढी पेन्सन सेवा पाउने नागरिक रहेका छन् । यस निर्णयबाट उनीहरु र उनीहरूमा आश्रित सदस्यहरू लाभान्वित हुने भएका छन् ।
सरकारले एकल महिला, उनीहरूका पारिवारिक सदस्य र अपाङ्गता भएकाहरूका लागि पनि राहत प्याकेज ल्याएको छ ।
सार्वजनिक सेवामा काम गर्दै आएका कर्मचारीहरूको सेवा सुविधामा भने सात प्रतिशत मात्रै वृद्धि गरिएको उहाँले जानकारी दिनुभयो । (रासस÷सिन्ह्वा)