संयुक्त राष्ट्रसङ्घको बिहीबार प्रकाशित एक प्रतिवेदनले कोभिड–१९ लगायत अकल्पनीय सङ्कटले मानव प्रगतिलाई पाँच वर्ष पछाडि धकेलेको र विश्वव्यापी अनिश्चितताको लहरलाई बढावा दिएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले ३० वर्षअघि स्थापना भएको मानव विकास सूचकाङ्क सन् २०२० र २०२१ मा लगातार दुई वर्ष घटेको उल्लेख गरेको छ ।
यूएनडीपीका प्रमुख अचिम स्टेनरले एएफपीसँगको अन्तर्वार्तामा भन्नुभयो, “यसको अर्थ हामी अकालमा मर्दैछौँ, आवश्यकभन्दा कम शिक्षित छौं, हाम्रो आम्दानी घट्दै गएको छ भन्ने हो ।”
उहाँले भन्नुभयोे, “केवल तीन मापदण्डहरूबाट हामीले यो बुझ्न सक्छौँ कि किन यति धेरै मानिसहरू निराश र भविष्यको बारेमा चिन्तित महसुस गर्न थालेका छन् ।
मानव विकास सूचकाङ्क दशकौँदेखि निरन्तर उकालो लागिरहेको छ तर सन् २०२० मा ओरालो लाग्न थालेको र सन् २०२१ मा पनि निरन्तर ओरालो लाग्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
‘अनिश्चित समय, अस्थिर जीवन’ शीर्षकको उक्त प्रतिवेदनले कोभिड–१९ महामारीलाई विश्वव्यापी मन्दीको पुनरुत्थानको प्रमुख कारकका रूपमा औंल्याएको छ, तर राजनीतिक, वित्तीय र जलवायुसँग सम्बन्धित सङ्कटहरूको बढ्दो सङ्ख्याले जनसङ्ख्यालाई पुनरुत्थान गर्न समय नदिएको पनि उल्लेख गरेको छ ।
“हामीले यसअघि पनि विपत्ति भोगेका छौं । हामीबीच पहिले पनि आर्थिक मन्दी भएको छ । तर अहिले हामीले सामना गरिरहेको कुराको संगम मानव विकासको लागि ठूलो धक्का हो,” स्टेनरले भन्नुभयो ।
अध्ययन रिपोर्ट अनुसार यो झट्का वास्तवमै विश्वव्यापी छ र यसले विश्वका ९० प्रतिशतभन्दा बढी देशलाई प्रभावित गरेको छ ।
स्विट्जरल्याण्ड, नर्वे र आइसल्याण्ड शीर्ष स्थानमा छन् भने दक्षिण सुडान, चाड र नाइजर अन्त्यमा छन् ।
केही देशहरू महामारीबाट मुक्त हुन थालिसकेका छन् भने ल्याटिन अमेरिका, सब–सहारा अफ्रिका, दक्षिण एसिया र क्यारेबियन क्षेत्रका धेरै राष्ट्रहरूले युक्रेनमा युद्ध अर्थात् नयाँ सङ्कट आउनुअघि नै कुनै परिवर्तन गरेका थिएनन् ।