नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा कोभिडले शिथिल पारेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन लागेको छ । लामो समयदेखि कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायी चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्ने आशमा छन् । उनीहरूले धमाधम चाडपर्व लक्षित छुट ‘प्याकेज’ घोषणा गरिरहेका छन् ।
पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले यहाँको पर्यटनमा केही उत्साह थपिएको क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराई बताउनुभयो । सौराहाको पर्यटन व्यवसाय केही समययता तङ्ग्रिन थालेको र होटल, पव, रेष्टुरेन्टमा अचेल आन्तरिक पर्यटक झुम्न थालेका उहाँको भनाइ छ ।
चाडपर्व नजिकिएसँगै आन्तरिक तथा बाह्य पर्यटकले होटलबारे सोध्न थालेका र पर्यटक आउन सुरु भएकाले व्यवसायी उत्साही देखिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । “कोरोना महामारीले चितवनको मात्रै होइन, नेपालकै पर्यटन क्षेत्र प्रभावित बन्यो” उहाँले भन्नुभयो, “करिब दुई वर्ष हामीले होटल तालाबन्दी गरेर बस्नुपर्ने अवस्था आयो, अब अहिले विस्तारै होटल सञ्चालन गर्दै आएका छौँ ।” अहिले सौराहाका होटल पूर्णरूपमा सञ्चालनमा आएका जनाउँदै उहाँले विदेशी पर्यटक फाट्टफुट्ट मात्र देखिएको बताउनुभयो । उहाँले गत वर्ष मात्रै दुई लाख आन्तरिक र बाह्य पर्यटक सौराहा आएको जानकारी दिनुभयो । यसपटक पर्यटकको सङ्ख्या बढ्ने अनुमान थियो तर आर्थिक मन्दीलगायतका कारणले सोचेअनुसार हुँदैन कि भन्ने चिन्ता थपिएको उहाँले बताउनुभयो ।
पर्यटकको आगमन बढ्न थालेपछि देशमा चुनाव भएकाले पनि त्यसको असर र बर्खाका कारणले घटेका पर्यटक फेरि थपिन सुरु भएका उहाँको भनाइ छ । “अहिले पर्यटन क्षेत्रले विस्तारै लय समात्न सुरु गरेको छ, अहिलेसम्म चहलपहल खासै नबढेको भए पनि अब चाडपर्व सुरु भयो पर्यटक बढ्छन् भनेर हामी ढुक्क छौँ”, अध्यक्ष भट्टराईले भन्नुभयो, “विस्तारै आन्तरिक र बाह्य पर्यटकको चहलपहल पनि बढ्न थालेको छ ।”
सौराहामा गुड फ्राइडे भनेर आउनेमध्ये बढीमात्रामा युवाहरू भएका जनाइएको छ । “किशोरावस्थाका आन्तरिक पर्यटक नेचरमा रमाउनभन्दा ‘गुड फ्राइडे’ भनेर खाने, रमाउने, पिउने, इन्जोय गर्ने भन्ने हिसाबले बढी खर्च गर्ने गरेको देखिएको छ”, व्यवसायी गिरीले भन्नुभयो, “यहाँ आउने विदेशी भने जङ्गल ड्राइभ, जीप सफारी रमाउने गरेकामा नेपालीहरू भने फ्राइडेको दिनमा होलिडे मनाउन आएको भन्दै अलिकति बढी खर्च गर्ने गरेको हामीले पाएका छौँ ।” निकुञ्जभित्रको जङ्गल सफारी बन्द रहे पनि सामुदायिक वनमा जीप सफारी र अन्य गतिविधि भइरहेका छन् ।
निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीलगायत वन्यजन्तु, वनस्पति, चरा, पुतली अवलोकन गर्नको सङ्ख्या पनि उत्तिकै छ । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा पर्यटकले हात्ती, जीप, पैदल सफारी गर्नका लागिसमेत आकर्षित हुने गरेका छन् ।