रामबहादुर थापा : वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो ।
आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार गराइनेछ । “वर्षमा २२ बँदेलको सिकार कोटा निर्धारण गरिएको छ, बोलपत्रमार्फत छानिएका सिकार कम्पनीले सिकार खेलाउन पाउँछन्”, उहाँले भन्नुभयो, “विशेष गरी नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको सिकार खुलाउन लागिएको हो, यसबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास छ ।”
नाउर र झारलको महँगो सिकार नेपाली सिकारीको पहुँचमा छैन । त्यसका लागि विदेशी पेसेवर सिकारी भने लाखौँ खर्चन तयार हुन्छन् । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि पुगेका छैनन् । बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीच सम्बन्ध बलियो हुने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।
“बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउनेछ”, उहाँले भन्नुभयो, “वैधानिक रुपमा सिकार गराउँदा राज्यले राजस्व पनि आर्जन गर्छ ।” बँदेल सिकारको दररेट भने बोलपत्रमा हुने प्रतिस्पर्धापछि मात्र तय हुने आरक्ष कार्यालयले जनाएको छ । विभागले नाउर, झारलसँगै बँदेलको पनि एकसाथ विद्युतीय बोलपत्र माग्ने भएको छ । आरक्षले प्रारम्भिक अध्ययनपछि वार्षिक १६ देखि २३ वटासम्म बँदेलको सिकार गराउन सकिने सुझाव विभागमा पठाएको थियो । सोही आधारमा विभागले दुई याममा ११÷११ बँदेलको सिकार कोटा तोक्ने तयारी गरेको हो ।
प्रमुख संरक्षण अधिकृत कँडेलले विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र सिकार कोटा तोकिने बताउनुभयो । नाउर र झारलको हरेक पाँच पाँच वर्षमा गणना गर्ने गरिन्छ । गणनाको नतिजालाई हेरेर विभागले सिकारको कोटा तोक्ने गर्छ । यस वर्षलाई बँदेलको बढी बसोबास रहेका सिकार ‘ब्लक’मा चारदेखि पाँच र थोरै भएकामा एकदेखि दुईसम्म मात्र सिकार गराइने भएको छ ।
सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइँमा ढोरपाटन पर्ने गरेको छ । सिकारीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।
विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।