राष्ट्रिय समाचार समिति ( रासस) का फोटो पत्रकार रत्न श्रेष्ठले आफ्ना स्वर्गीय बुबाआमाको स्मृतिमा स्थापना गर्नुभएको ‘स्व हरिलाल श्रीलक्ष्मी श्रेष्ठ लुमन्ति पत्रकारिता सिरपा’ पत्रकार कृष्ण प्रजापतिलाई प्रदान गरिएको छ ।
मध्यपुरथिमिमा आज नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा नेपाल भाषाको पत्रकारितामा लामो समयसम्म योगदान पु¥याएबापत पत्रकार प्रजापतिलाई दोसल्ला ओढाएर सम्मानपत्र र रु १० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले नगरको मुख्य विकाससँगै सामाजिक, ऐतिहासिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र समाज परिवर्तनका लागि योजना बनाएर लागेको बताउनुभयो । उहाँले नगरपालिकाले बन्न नसकेका शिक्षा, स्वास्थ्य, सहकारीलगायतका ऐन निर्माण गरेको, अरनिको राजमार्गमा सडक बत्ती जडान गरेको, सडकमा अव्यवस्थित पार्किङ, बजार तथा टहरा हटाउन सूचना जारी गरेको, फोहर मैला व्यवस्थापनका लागि उपत्यकाका सबै नगरपालिकाको साझा अवधारणा बनाउन पहल गरेको बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “फोहर व्यवस्थापनका लागि गोकर्णेश्वर नगरपालिकाको प्रविधि प्रभावकारी देखिएकाले मध्यपुरमा पनि त्यसलाई लागू गर्नेबारे छलफल चलाएको छौँ, खानेपानी समस्या समाधानका लागि योजना बनाएका छौँ, दुई वर्षभित्र कमेरोटार जग्गा एकीकरण आयोजना सम्पन्न गर्ने लक्ष्य लिएका छौँ, पत्रकारले पनि समाचार सम्प्रेषण गर्दा राम्रा समाचार लैजानुस्, कुनै नराम्रा भए हामीलाई सुझाव दिनुस् ।”
कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले जनताको पक्षमा काम गर्न नगरपालिका लागीपरेको, नगरपालिकाले आफ्नै मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिएको, आफ्ना नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा र निःशुल्क रक्तसेवा प्रदान गरेको बताउनुभयो । उहाँले दलीय दृष्टिकोणबाट अभिप्रेरित भएर समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ यथार्थ धरातलमा उभिएर पेसाप्रतिको धर्म निभाउने गरौँ ।”
कार्यक्रममा दबूका केन्द्रीय सचिव केके मानन्धरले देशभरका २९ वटा जिल्लामा शाखा सञ्चालन गरिसकेको दबूले मातृभाषा पत्रकारिताको विकास गर्दै भाषा, कला, संस्कृतिको संरक्षणका लागि भूमिका खेलेको बताउनुभयो । उहाँले खस नेपाली भाषाको पत्रकारिता मात्रै प्रभावकारी नहुने भन्दै नेपाल भाषामा मात्रै नभई अन्य जातजातिको मातृभाषामा पनि पत्रकारिता सुरु गर्नुपर्ने औँल्याउँनुभयो ।
कार्यक्रममा शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ट पत्रकार ज्ञानराम श्रेष्ठले नेपाल भाषाको पत्रकारिताले भाषा, लिपि, कला र संस्कृति, पहिचानलाई जीवन्त राख्न सफल भएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाका कार्यवाहक अध्यक्ष सुन्दर शिल्पकार, सम्मानित पत्रकार प्रजापति, दबूका सचिव देवेन्द्र प्रजापति, कोषाध्यक्ष चन्द्रकृष्ण (गोपाल) श्रेष्ठलगायतले दबूको महत्व र आवश्यकतामाथि चर्चा गर्नुभएको थियो ।
तमखुको अध्यक्षतामा नयाँ नेतृत्व ः
अधिवेशनले दबूको भक्तपुर जिल्ला शाखामा पुनः रामगोपाल तमखुको अध्यक्षतामा नौ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । दबूको उपाध्यक्षमा सुरेश ख्वाकः श्रेष्ठ, सचिवमा देवेन्द्र प्रजापति, कोषाध्यक्षमा चन्द्रकृष्ण (गोपाल) श्रेष्ठ, सदस्यहरूमा श्यामकुमार था श्रेष्ठ, प्रकाश मल्ल, हरिसुन्दर छुंका, रेणु त्वानाबासु र वीरेन्द्र खाइजु चयन छन् ।RSS