सुशीला रेग्मी : तीजमा छोरी आइन माइत नभन्नु है आमाले, आउन पाइन आमा म त घरको कामले’ ..........यसपालिको तीजमा माइती घरमा जान नपाउँदा फोनबाटै बुढी भएकी आमालाई सम्झाउँदै हुनुहुन्छ, पाल्पा रामपुरकी भगवती देवकोटा ।
माइतीघरमा आमाको काखमा बसेर दर खादै आँगनीमा मादलको तालमा घन्केर नाच्ने रहर उहाँलाई नभएको होइन । तैपनि समय र परिस्थितिले कर्मघरमा नै परिवारसँग बसेर खुशीयालीका साथ तीज मनाउँदै हुनुहुन्छ । “पहिला–पहिला तीजमा हरेक वर्ष छोराछोरी कोही काखमा, कोही डो¥याउँदै दिनभरको बाटो वर्षे भेल पनि नभनी खोला, नदीनाला तरेर पुगिन्थ्यो, अहिले त आफ्नै घरकै कामधन्दाले गर्दा माइती जानै भ्याइँदैन, माइती नगए पनि घरमै तीजकै रमाइलो गरेर मनाउने तयारी छ”, उहाँले भन्नुभयो ।
घर व्यवहार, छोराछोरीको पठनपाठन सबै आफ्नै काँधमा आएपछि तीजलाई भनेर माइतीमा हिजोआज कमै जाने गरेको उहाँ बताउनुहुन्छ । बेलाबेलामा भने उमेर ढल्कदै गएका बुबाआमालाई भेटघाट गर्न जाने गर्छु तर तीज पर्व नै भनेर माइती जाने हिजोआज फुर्सद नै मिल्दैन । घरमा सबै सुखसयल, धन सम्पत्ति भए पनि छोरीलाई तीजमा माइतीकै झल्को भने उत्तिकै आउने उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “अब बुढ्यौलीले छुँदै गयो, दुई÷तीन दिन माइती गएर बस्दा सबै घर बिग्रन्छ कि भन्ने पिरलो हुन्छ, बिहे भएका सुरुका वर्षमा त सधैँजसो तीजमा माइती गइएकै थियो, बाबाको तीनतले घर छोरीलाई के काम लाग्छ र ? भने झै आफ्नै घरमा सुख दुःखसँग रमाउनु पर्ने छोरीको कर्म रहेछ ।”
पहिला मीठो मसिनो खान वर्ष दिनकै चाड कुर्नुपथ्र्यो । अहिले परिस्थिति बदलिएकाले पनि महिलाहरु मीठो मसिनो खानकै निम्ति माइतीमै जानुपर्छ भन्ने चलन हराउँदै गएको छ । सतासी वर्षीय विष्णुमाया देवकोटालाई यसपटक पनि तीजमा भाइले माइती बोलाए पनि उमेर अवस्थाले गर्दा माइती जानसक्ने अवस्था छैन ।
बद्री पंगेनी र कविता अर्यालले यसपटक बजारमा ल्याउनुभएको ‘सुखदुःख गरौँला दिदी आउँ है खुरुक्क, तीजमा भाइले बोलायो मत भए फुरुक्क’ बोलको गीत उहाँको जीवनमा मेल खाएको छ । उहाँलाई माइतीघरमा बाल्यकालमा तीजमा छम्केर नाचेको पल अहिले ताजै छ । “भाइले फोन गरेर बोलाउँदा मन फुरुक्क भएको छ, माइतीघरमा गएर दिदीभाइ बसेर मीठो मसिनो खाने, सुखदुःख गरेर बस्ने चाहना छ तर जान सकिदैन, दिदीभाइ फोनमै सुख दुःख गन्थनमन्थन गरेर तीज मनाउन थालेको धेरै वर्ष भइसक्यो”, ज्येष्ठ नागरिक देवकोटाले भन्नुभयो ।
हरितालिका तीज महिलाको दुःखसुख र वेदना बोल्ने चाड हो । तीजमा माइती मावली आफन्ती कहाँ गएर भेटघाट मीठो मसिनो खाने, गीत गाएर नाच्ने चलन छ । घरको कामधन्दा, विभिन्न वाध्यता परिस्थितिले तीजमा माइती जान नपाउँदा मनभित्रै पीडा लुकाएर कतिपय महिला बस्न बाध्य छन् । हुन त पहिलेको तीज र अहिलेको तीजमा धेरै फरकपन आइसकेको छ । तीजमै भनेर माइती, मावली नै जाने चलन पनि कम हुँदैछ ।
भाइले फोन गरेर गत वर्ष पनि तीजमा आउनुभएन यसपटक जसरी पनि आउनुहोला दिदी भन्दैछ तर आमा नभएको माइतीघर नरमाइलो लाग्ने गरेको सीता भण्डारीले दुःखेसो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, “म नौ वर्षको उमेर हुँदा आमाले हामीलाई छोडेर अन्यत्र जानुभयो, सानासाना भाइबहिनी हुर्काउने पढाउने सबै मेरो जिम्मा थियो, भाइले आमा सरह नै माया गरे पनि झल्को आमाकै बढी आउँदो रहेछ ।”
तीजमा आमा नहुँदा छोरीलाई साह्रै पीडादायी हुन्छ । आमाले गर्ने माया, स्नेह, आमाको हातले पकाएको मीठा परिकार चाडपर्वका समय बढी झझल्को आउँछ । ‘बाबा पनि हुनुहुन्छ, दाजु पनि हुनुहुन्छ, चाहिँदो रहेछ छोरीलाई आमा बरिलै’.......भने झैँ माइतीमा सबैको मायाममता पाए पनि आमा नहुँदा छोरीलाई घर नै रित्तोजस्तो अनुभूति भएको रितु गैरे बताउनुहुन्छ । तीजमा विशेषगरी छोरीले कर्मघरमा भोगेका दुःख सुखका कुरा, सासूबुहारीका जुहारीलाई ठट्यौली पारामा गीतका माध्यमबाट पोख्ने चलन छ ।
पहिले ‘सुन्नुहोला दिदीबहिनी कस्ता आए जमना, बुहारीले सुख देलान् भन्दै नभन’ जस्ता खालका गीतहरु बढी सुनिन्थ्यो भने अहिले समय र बढ्दो प्रविधिको प्रयोगलाई जोडेर पुरानै शैलीमा पनि यदाकदा केही गीतहरु भने सुन्न पाइन्छ । गैरेले सुनाउनुभयो, “अचकालका बुहारीको कति गरम् बहिन मोबाइल र टिकटकभन्दा अर्थोक भएन ।” हिजोआज परिमार्जित भएर यस्ता खालका गीत गाउँघरमा पाकापुस्ताले तीजमा गाउने गर्छन् । पहिलाजसो भने पुराना मौलिक परम्परागत गीत भने अहिले कमै सुन्न पाइन्छ ।