प्रदेश नंं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न आठ कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गरेको छ ।
यसैगरी बैठकले ‘कर्मचारी प्रोत्साहन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । यो कार्यविधि स्वीकृत भएसँगै प्रदेशमा न्यूनतम छ महिनादेखि कार्यरत कर्मचारीले प्रोत्साहनस्वरुप एकमुष्ट एक महिनाको सुरुआतको तलब स्केलबराबरको रकम पाउने प्रदेश यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले ‘मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९’ स्वीकृत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा प्रस्तुत ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन) कार्यविधि, २०७९’ पनि स्वीकृत गरेको छ । बैठकले प्रदेशअन्तर्गतका निकायको आर्थिक प्रशासनलाई सुव्यवस्थित, सार्वजनिक खर्चमा पारदर्शी, मितव्ययी र प्रभावकारी बनाउन ‘सार्वजनिक खर्चको मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका, २०७९’ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै घरेलु मदिरा ब्रान्डिङ गर्न ‘घरेलु मदिरा ब्रान्डिङ निर्देशक समिति तथा कार्यदेश’ समेत बैठकले स्वीकृत गरेको छ ।
बैठकले प्रदेशमा श्रम ऐन, २०७४ कार्यान्वयनका लागि सहजीकरण गर्न, श्रमिकका हक अधिकारको सुनिश्चित गर्न तथा श्रमिक, रोजगारदाता र प्रदेश सरकार बीचको सम्बन्धलाई प्रभावकारी बनाउन ‘प्रदेश श्रम सल्लाहकार परिषद् गठनसम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश मातहतका सरकारी अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकलाई बिरामीको सेवाका लागि थप प्रेरित गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।RSS