दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।
बुधबार राससमा प्रकाशित ‘फरासिला बाजेको निरसिलो कथा : रोगले छोएन, दुःखले छोडेन’ शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण भएपछि बिहीबार बिहान वडा कार्यालयले थापाको घरमा नै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि प्रदान गरेको छ ।
स्वास्थ्यकर्मी खगराज निउरेले थापाको प्रेसर, धड्कन, तापक्रम, अक्सिजन आदिको जाँच गर्दै सबै अवस्था ठिक रहेको र आँखामा सामान्य इन्फेक्सन मात्र देखिएको बताउनुभयो । स्वास्थ्य जाँचपछि थापाले आफ्ना लागि अभिभावक र सन्तान दुवै सरकार नै भएको जनाउँदै सरकारले घरघरमा नै पुगेर औषधि उपचार र ज्येष्ठ नागरिक सुरक्षाभत्ता दिन थालेपछि आफूलाई जिउन निकै सजिलो भएको जनाउनुभयो ।
देशविदेशमा रहेका उहाँका आफन्तहरुले पनि उहाँलाई कुनै कुराको कमी हुन नदिने र आवश्यक चिज उपलब्ध गराउने बताउनुभएको छ । बिहीबार बिहान रासससहितका पत्रकार र स्वास्थ्यकर्मी थापाको घरमा पुग्दा थापाका दाइका छोरा दुर्गाबहादुर थापाले उहाँलाई आफ्नो घरमा आफैँसँग बस्न आग्रह गर्नुभएको थियो ।
श्रीमती खिरकुमारीसँग दाजुभाइको सामान्य छाप्रोमा बस्दै आउनुभएका थापा दम्पतीलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन् । दाजुभाइका छोराहरुले समयसमयमा आवश्यक सोधपुछ गर्ने र परिआएको खण्डमा हेरविचार गर्ने गर्दछन् ।
सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस (अन्न) । आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीका सन्तान विवाह भएर गएकी एकमात्र छोरी छन्, ती पनि नबोल्ने (अपाङ्ता भएकी) छन् । बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हीराबहादुरले हेर्ने गर्नुहुन्छ ।
बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षाभत्ताबाट नै आफ्नो आवश्यक चिज जुटाउँदै आउनुभएको छ ।
“खान र लगाउनका लागि सरकारले पैसा दिन्छ, बिरामी पर्दा घरमा नै आएर उपचार गरिदिन थाल्यो, सरकारलाई धेरै धन्यवाद छ”, थापाले भन्नुभयो । ज्येष्ठ नागरिक समाजका सम्पत्ति भएका र उनीहरुको ज्ञान, अनुभव र जीवन भोगाइका घटनाले अहिलेको पुस्ता र भावी सन्ततिलाई मार्गनिर्देश गर्ने भएकाले ससम्मान आवश्यक सहयोग गर्ने बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।
बेनी नगरपालिकाले मङ्गलबारदेखि ७० वर्षभन्दामाथिका ज्येष्ट नागरिकको घरमा नै पुगेर स्वास्थ्य जाँच गराउने अभियान सुरु गरेपछि थापा जस्तै कैयौँ ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य अवस्थाका बारेमा जानकारी प्राप्त गर्न पाएका छन् । विशेषगरी नसर्ने र नदेखिने रोगबाट ग्रस्त ज्येष्ठ नागरिकलाई यो अभियानले फाइदा पुग्ने स्वास्थ्यकर्मीको भनाइ छ । रासस