पूर्णप्रसाद मिश्र : साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको धोको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गर्नमा केन्द्रित छ । साउनको चौँथो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड छ ।
विगतका तीन वटा सोमबारभन्दा आज धेरै भक्तजन पशुपतिनाथको दर्शनका लागि टन्टलापुर घाममा घण्टौँ लामबद्ध भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
विगतका तीन सोमबार बिहानैदेखि वर्षा हुने गरेको थियो । आज भने बिहानैदेखि काठमाडौँ उपत्यकामा घाम लागिरहेको छ । भक्तजनलाई विगतका सोमबार साउने झरिले पनि लाम लाग्न रोकेको थिएन ।
यसैगरी आज भने टन्टलापुर घाम लाग्दा पनि भक्तजन डगमगाएका छैनन् । छाता ओढेर भए पनि भगवानलाई शुद्ध जलसहित पूजाआराधना गर्ने धोकोले लाममा बसेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा दर्शन एवं पूजा, आराधनाका लागि लाम लाग्ने भक्तजनमा दुई तिहाई भन्दा धेरै महिला छन् । साउनको सोमबार अधिकांश महिला पारिवारिक सुख, शान्तिको कामनाले व्रत बस्ने गर्छन् । यसैकारण पशुपति क्षेत्रमा जम्मा हुने अधिकांश भक्तजन महिला भएको कोषको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
साउनको सोमबार विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा विवाहित महिलाको मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
यसैगरी अविवाहित महिलाले सुयोग्य वर प्राप्त गर्ने विश्वास रहिआएको छ । यसै विश्वासका आधारमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लागेको छ । दक्षिणकाली नगरपालिकाबाट पशुपतिनाथमादर्शनका लागि आउनुभएकी सविता न्यौपाने बिहान नौ बजे आएर तीन घण्टा लाम बसेर मन्दिरभित्र प्रवेश गर्न सफल भएको बताउनुहुन्छ । विगतका सोमबार घर नजिकैका अन्य शिवालयमा पूजाआराधना एवं दर्शन गरेपनि कम्तीमा एउटा सोमबार भने पशुपतिनाथको दर्शन गर्ने चाहनाले पशुपति क्षेत्रमा आएको उहाँले सुनाउनुभयो ।
राजधानीका सबै शिवालयमा भक्तजनको भी
राजधानीका अन्य शिवालयमा भने रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छन् । राजधानीका भित्री सहर एवं वरिपरिका नगरपालिकाका साना, ठूला शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । ती शिवालयमा विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै पूजाआराधना गरिरहेका छन् । साउने सोमबारको व्रत बस्नेले कुनै न कुनै शिवालयमा गएर पूजा, आराधना र दर्शन गर्ने गरेका छन्
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ । महिलाले मात्र साउनको सोमबारको व्रत गर्ने भन्ने चर्चा शास्त्रीय नभएको उहाँले सुनाउनुभयो । घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । यसवर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको छ । पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ ।
विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् । ।डगोकर्णेश्वरमा बालयन्त्रको दर्शन गर्ने पुगे भक्तजन
राजधानीको उत्तर–पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारका अवसरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजाआराधना गर्ने प्राचीनकालेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ
यही मान्यताका आधारमा पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरी गोकर्णेश्वरमा भक्तजनको भीड लाग्ने गर्छ । वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिरको दर्शनका लागि राजधानीका साथै विभिन्न जिल्ला एवं भारतबाटसमेत भक्तजन आउने गरेका छन् । धार्मिक मान्यता अनुसार श्रीयन्त्रको पूजा आराधना गरेपछि बालयन्त्रको पनि पूजाआराधना गर्नुपर्ने मान्यताका आधारमा गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको हो ।
सुन्दरीजल–पशुपतिनाथ बोल बम यात्रीको लर्को
वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाउने परम्परा छ । साउनको चौँथो सोमबार आज पशुपतिनाथ काँवरिया समितिको आयोजनामा सुन्दरीजलबाट पशुपतिनाथ जल ल्याएर चढाउने भक्तजनको भीड लागेको छ ।
यसरी जल चढाउने परम्परालाई भक्तजनले ‘बोल बम’ भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउने परम्परा छ ।
।