नारायण ढुङ्गाना काठमाडौँ, २३ साउन : काठमाडौँको बल्खु खोलामा मिसिने चन्द्रागिरि नगरपालिकाको मुहान क्षेत्र (नागढुङ्गा)देखि नै खोलामा दैनिक फोहर फालिएको छ । जाने बुझेका नागरिक नै साँझ/बिहान मानिसको आँखा छलेर यसरी फोहर फाल्न उद्दत छन् । नगरपालिकाको वडा नं ३ मा त फोहर उठाउने जिम्मा पाएको खानेपानी तथा सरसफाई कार्यालयले फोहर उठाउने कार्य नै स्थगित गरेकाले अझै त्यो समस्या बढ्दो छ ।
चन्द्रागिरिमा मात्रै होइन, यस्ता गतिविधि काठमाडौँको मुख्य क्षेत्रमा झन् बढी छ । टुकुचा, बागमती, विष्मुमती नदी यस्तै गतिविधिले कुरुप बनेका हुन् । वर्षा भएका बेला काठमाडौँको टुकुचाले फोहरका ठूलाठूला पोका सकिनसकी बगाउँदै ल्याउँछ । काठमाडौँका सडकमा यत्रतत्र फोहर दैनिक देखिएकै हो । खोला, नदी पार्क, गल्ली तथा कुनाका खाली ठाउँ देखिन मुस्किल छ । अझ घरबाट सिधै नदीमा ढल हाल्ने गलत चलन त दशकौँ देखिकै समस्या हो ।
सरसफाई तथा वातावरण विज्ञहरु यी यावत विषयलाई अध्ययन गर्दा फोहर व्यस्थापनको पहिलो समस्या घरभित्रै रहेको छ । त्यसपछि पालिका र सरकारलाई दोष जान्छ । दीर्घकालिन र वैज्ञानिक फोहर व्यवस्थापन रणनीतिको अभाव, स्थानीयवासीको लापरवाही तथा सचेतनाको अभावका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन जटिल मोडबाट गुज्रिरहेको छ ।
दुई वर्षका लागि भनेर २०६२ सालमा नुवाकोटको सिसडोलमा फ्याँक्न थालिएको फोहर वैज्ञानिक योजनाविहिन रुपमा त्यस ठाउँ प्रयोग भयो । यतिका लामो समय हुँदा न त काठमाडौँ महानगर र अन्य पालिकाले व्यवस्थापनको दीर्घकालीन रणनीति बनाउन सके न त उपभोक्तामै राम्ररी चेतना जाग्न सक्यो । फोहर विसर्जन स्थलमा भएको दुर्गन्ध र सिर्जित विविध समस्याका कारण अहिले त्यस क्षेत्रका बासिन्दासमेत आन्दोलित छन् । फोहर उत्पादनको मुहानदेखि सङ्कलन र विसर्जन स्थलसम्मै लापरवाहीपूणर् गतिविधि चलिरहेको छ । राज्यले बनाएको कानुन कार्यान्वयनको अभावमा चेतना भएका र पढे लेखेका समुदाय नै खोला, गल्ली तथा सडकमै यत्रतत्र फोहर फालिरहेका छन् ।
अहिले त फोहर व्यवस्थापनको जिम्मा हरेक पालिकालाई दिइएको छ । कानुनले दण्डित गरे पनि त्यस्ता व्यक्तिका हकमा पालिकाले कानुन कार्यान्वयन गर्न नसक्दा लापरवाही बढ्दै गएको धेरैको बुझाई छ । काठमाडौँका एक वासिन्दा पदमराज जोशी नागरिकमा चेतनाको अभावकै कारण समस्या बढ्दै गएको बताउनुहुन्छ । नागरिकमा चेतना प्रभावकारी रुपमा विकास नभएसम्म समस्या समाधान गर्न नसकिने उहाँको ठम्याइ छ ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर दण्डित गर्दा झन् द्वन्द्व बढ्नसक्ने हुँदा त्यसतर्फ जाने सोच तत्काल नबनाएको बताउनुहुन्छ । सचेतना फैलाउने कुरा र फोहर वर्गीकरण गरेर नमूना काम गर्नेलाई सहुलियत दिनेलगायतका प्रोत्साहनका कार्यक्रम भने गरिने उहाँले जानकारी दिनुभयो । पछिल्लो समयमा यही साउन १ गतेबाट कुहिने र नकुहिने फोहरलाई वर्गीकरण गरी व्यवस्थापन गर्ने कार्यक्रम काठमाडौँ महानगरपालिकाले अघि सारेको छ । उक्त कार्यक्रम राम्ररी कार्यान्वयन हुन सकेको पाइँदैन ।
हाल फोहर पृथकीकरण नगरी फ्याँकिएको सडकभरि देख्न सकिन्छ । उपत्यकका सडकभरि नछुट्याइएका दुर्गन्धित फोहर थुप्रोले सङ्घीय राजधानीलाई नै कुरुप बनाइरहेको छ । प्रवक्ता मानन्धर भने बजार क्षेत्रमा मात्रै उक्त समस्या रहेको तर अन्य ठाउँमा भने समस्या नरहेको दाबी गर्नुहुन्छ । कतिपय काठमाडौँवासी कुहिने र नकुहिने छुट्याएर राख्दा पनि फोहर लिन नआएका दुःखेसो गर्न थालेका छन् । प्रवक्ता मानन्धर शुरुआती चरणमा प्राविधिक कारणले समस्या परेको स्वीकार्नुहुन्छ । “दशकौँको समस्या एकैपटक समाधान हुन्न, विस्तारै हुँदै जान्छ, धेरै ठाउँमा राम्रो भएको छ, केही मानिसले त घरबाट फोहर निकाल्नै छाडिसकेका छन्”, मानन्धरले थप्नुभयो ।
सरसफाइ विज्ञहरु सबल र दुर्बल पक्ष विश्लेषण गरेर जनसङ्ख्याको चापसँगै फोहर व्यवस्थापनको योजना आवश्यक रहेको औँल्याउँछन् । कौसी, बरण्डा खेती गरेर कुहिने फोहर व्यवस्थापन गर्ने र पुनःप्रयोग गर्न मिल्ने फोहरलाई त्यहीअनुसार प्रयोग गर्दा केही हदसम्म समस्या कम हुने उहाँहरुको सुझाव छ । यद्यपि कौसी र बरण्डामा मात्रैको व्यवस्थापनले फोहरको दीर्घकालीन समाधान हुने देखिँदैन, त्यसले कम गराउँछ । बदलिँदो सहरीकरणअनुसार योजना निर्माण गरी दिगो समाधान नै अहिलेको आवश्यकता हो ।
उपत्यका फोहर व्यवस्थापनमा दीर्घकालीन योजना नबनेकै कारण अहिले जटिलता आएको हो । दुई वर्षका लागि भनेर प्रयोगमा ल्याइएको सिसडोल आज १७ वर्ष बितिसक्यो तर समस्या कम हुनुको साटो बल्झिरहेको छ । विगतको गल्तीलाई मनन् गर्दै एकीकृत रुपमा मात्रै समस्या समाधान गर्न सकिन्छ । बागमती सफाई अभियानका एक अभियानकर्मी तथा पूर्वसचिव किशोर थापा सकारात्मक सोचका साथ काम गर्न सके फोहर व्यवस्थापन सम्भव भएको बताउनुहुन्छ ।
काठमाडौँ उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा सिसडोलमा पुग्छ । सुरुमा गोकणर्, सिसडोल हुँदै अहिले बन्चरेडाँडामा फोहर व्यवस्थापनका गर्न थालिएको छ । सिसडोलको फोहरको थुप्रोमाथिबाट बनाइएको सडक हुँदै फोहर बोक्ने गाडी बन्चरेडाँडा जाने गरेका छन् । हाल काठमाडौँमा झण्डै एक हजार ३०० टन फोहर उत्पादन हुँदै आएको छ । त्यसमध्ये झण्डै ६०० टन काठमाडौँ महानगरको मात्रै हुन्छ । देशका केही पालिकाले नमुना काम गरिरहेका छन् । वालिङले फोहर किनिरहेको छ, दाङ र धनकुटामा पार्क नै बनेको उदाहरण छ । कतिपय नगरपालिकाले फोहरबाट वायोग्यास उत्पादन गरेका छन् । स्रोतदेखि नै समस्या रहेको फोहर व्यवस्थापनको सोचमै खोट रहँदा फोहरबाट आर्जन गर्न सकिने मोहर खेर गइरहेको छ ।