चाँडो चिकित्सक भेट्न पाइएला भनेर बागलुङ नगरपालिका–१२ का टुकबहादुर नेपाली आइतबार बिहान ९ बजे नै धवलागिरि अस्पताल पुग्नुभयो । पेटको पत्थरीले दुःख दिएपछि उपचारमा जानुभएका नेपालीले अस्पतालमा भने उल्टो सास्ती खेप्नुप¥यो ।
दुई घण्टा लाममा उभिएपछि बल्लतल्ल पाएको बहिरङ्ग सेवाको टिकट लिएर उहाँ जनरल सर्जनकहाँ पुग्नुभयो । स्वास्थ्य जाँच र परामर्शपछि चिकित्सकले नेपालीलाई भिडियो एक्सरेका लागि सिफारिस गरिदिए ।
भिडियो एक्सरेका लागि बिल बनाउन नेपाली फेरि टिकट कक्षमै गएर लाममा उभिनुप¥यो । ठेलमठेल भीडमा घण्टौँ उभिएपछि उहाँले पालो त पाउनुभयो तर ‘आज भिडियो एक्सरे हुँदैन’ भन्दै कर्मचारीले झ्यालबाटै फर्काइदिए । भिडियो एक्सरेलाई तोकिएको दैनिक ५० जनाको कोटा सकिएको भन्दै कर्मचारीले बिल काट्न नमानेको नेपालीले बताउनुभयो ।
“यो कुरा हामीलाई पहिले भनिएन, पछि एक्कासि आज भिडियो एक्सरे हुँदैन भनेर फर्काए”, उहाँले दुःखेसो पोख्नुभयो, “बर्सातको बेला महँगो भाडा तिरेर गाउँदेखि आइएको छ, उपचार नगराई कसरी फर्कनु, बजारमा बस्नलाई पैसा छैन ।”
चिकित्सकले सिफारिस लेखेर पठाएपछि भिडियो एक्सरे हुँदैन भनेर बिरामीलाई फर्काउनु अस्पतालको लापरबाही भएको नेपालीको भनाइ छ । उहाँसँगै लाममा उभिनुभएकी बागलुङ–१ की लीला कार्की पनि अस्पतालको अव्यवस्था देखेर बेचैन देखिनुहुन्थ्यो । टोकन लिँदा, टिकट बनाउँदा, चिकित्सक कुर्दा, बिल बनाउँदा र औषधि लिँदा ठूलो झण्झट बेहोर्नुपरेको उहाँले उल्लेख गर्नुभयो ।
“दुई घण्टा भयो टिकट पाइएको छैन, डाक्टर भेटिने कहिले हो, उपचार पाउने कहिले ?”, कार्कीले भन्नुभयो । कार्की स्त्रीरोग विशेषज्ञसँग स्वास्थ्य जाँच गराउन अस्पताल पुग्नुभएको थियो । टिकट कक्षका कर्मचारीले पनि सेवालाई छिटोछरितो बनाउन नसकेकामा उहाँको गुनासो छ ।
बागलुङ–३ का तारा सापकोटा पनि छोरा देवेन्द्रको पेटको उपचारका लागि अस्पताल पुग्नुभएको थियो । उहाँले पनि छोराको भिडियो एक्सरे गर्न नपाएको बताउनुभयो । “घण्टौँसम्म लाममा बस्न लगाएर पछि भिडियो एक्सरे हुँदैन भनेर फर्काइदिए”, उहाँले भन्नुभयो, “सेवा दिन सकिँदैन भने सुरुमै जानकारी दिनुपर्छ, जे मन लाग्यो त्यही गर्न पाइँदैन ।”
उपचारका लागि घण्टौँसम्म लाम लागेका अरु बिरामी र उनीहरुका आफन्त पनि अस्पतालको सेवा प्रवाहप्रति असन्तुष्ट देखिन्थे । अस्पताल व्यवस्थापनले बिरामीको समस्यालाई अनदेखा गरिरहेको उनीहरुको गुनासो थियो । अस्पतालको रेडियोलोजी विभागका सहयोगी स्वास्थ्यकर्मी अजिता पन्तले दिनमा ५० जना बिरामीको मात्र भिडियो एक्सरे हुने गरेको जानकारी दिनुभयो ।
“पचास जनाभन्दा बढी बिरामी हेर्न डाक्टरले पनि भ्याउनुहुँदैन, पहिले टिकट काटेर पछि फर्काएको विषय हामीलाई थाहा भएन, त्यसको व्यवस्थापन टिकट कक्षबाटै हुनुपर्ने हो”, उहाँले भन्नुभयो । अस्पतालमा रेडियोलोजिष्टका रूपमा डा प्रशुन घिमिरे कार्यरत हुनुहुन्छ । उक्त विभागमा जनशक्ति कम भएकाले पनि बिरामीको चाप थेग्नै धौ धौको स्थिति छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले आइतबार यसै पनि बिरामीको चाप बढी हुने हुँदा व्यवस्थापनमा केही अपुगता भएको बताउनुभयो । “जनशक्ति अभावको पुरानै समस्या छ, हामीले यो विषय पटकपटक सम्बन्धित पक्षसम्म पु¥याएका छौँ, तर सुनुवाइ हुनसकेको छैन”, उहाँले भन्नुभयो ।
टिकककक्षमा हुने भीड र लाममा उभिनुपर्ने स्थितिको अन्त्यका लागि प्रविधिमा पोख्त र चुस्त जनशक्तिको प्रबन्ध गर्न लागिएको मेसु पोखरेलले बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले दिएको नयाँ सफ्टवेयरमा अभ्यस्त हुन कर्मचारीलाई समय लागेकाले पनि सेवा प्रवाह छरितो हुन नसकेको बताउनुभयो ।
“काउण्टरलाई सुधार गर्न योजना बनाएका छौँ, अब अहिलेको समस्या हट्छ, रेडियोलोजी विभागमा पनि जनशक्ति थप्नुपर्ने अवस्था छ, बिरामीको चाप यस्तै रूपमा बढ्दै जाने हो भने एकजना मात्र रेडियोलोजिष्टले भ्याउनै सक्दैन”, उहाँले भन्नुभयो, “अस्पतालप्रति जनविश्वास बढेर नै बिरामीको चाप बढेको हो, हामी सेवालाई अझ प्रभावकारी बनाउनतिर लाग्छौँ, भएका कमीलाई सुधार्छौँ ।”
उपप्रादेशिक तहको यस अस्पतालमा १६ विशेषज्ञ चिकित्सक र छ जना मेडिकल अधिकृतको दरबन्दी छ । एघार विशेषज्ञ र चार जना मेडिकल अधिकृत मात्र अस्पतालमा कार्यरत छन् । तीमध्ये पनि अधिकांश छात्रवृत्ति करारका चिकित्सक छन् ।रासस