सधैँको उपेक्षा, अभाव र उत्पीडनको जाँतोमा पिसिँदै आएका मधेसका मुसहर अब आफ्नै मेहनतले उभिन लागेका छन् । ‘राख्ने लुगा र साँच्ने धन नहुने’ आहानका लागि उदाहरणमा उभ्याइने पराले झुपड बस्तीका मुसहरले पछिल्ला केही वर्षयता आफ्नै पौरख र मेहनतले आयआर्जन र सञ्चय बढाएका छन् । महोत्तरीको गौशाला नगरपालिका–८ बेलगाछीका मुसहरको मेहनत अहिले अरुको लागि दृष्टान्त बनेको छ ।
कृषि मजदुरी नै मुख्य पुख्र्यौली पेसा बनाउँदै आएका महोत्तरी जिल्लाका मुसहर अब अतिरिक्त आर्जन गरेर सञ्चय गर्न थालेका छन् । बस्ती नजिकैको सोनी खोला किनारको नदीउकास बगर अहिले ६२ घरपरिवारका मुसहरको मेहनतले हराभरा देखिएको छ । केही वर्ष पहिलेको बगरमा फलफूलका बिरुवा हुर्कदैछन् । बारीमा मौसमअनुसारका तरकारीका लहरा लहलहाएका देखिन्छन् । “हजुर, यसपालि वैशाखी तरकारी नै रु २० हजारको बेचिएछ”, बस्तीका हेमन्ती सादा मुसहरले भन्नुभयो, “घरमा पनि हरियो सागसब्जी टन्नै खाइएको छ ।” हेमन्ती नदीउकास बगरमा नगरपालिकाले उपलब्ध गराएको एक कट्ठा जग्गामा दिनरात नभनी नङ्ग्रा खियाउनुहुन्छ । चार वर्षअघि सुरु गरिएको बगर खेती कार्यक्रमले यसअघि कुपोषणले दुब्लो जस्तो देखिने बालबालिका हरियो सागसब्जी खान थालेपछि शारीरिकरुपमा पनि हृष्टपुष्ट देखिन थालेका छन् ।
हेमन्तीजस्तै बस्तीका बुद्धुु, चहेन्द्र, बिल्टु, सौखीया, फुलो र नथुनीयाँ सादा पनि बगरमै आफ्नो मेहनत खन्याइरहेका भेटिन्छन् । “हजुर, यो खेतीले हाम्रो बानी पनि सुधारेछ”, बगरमा फलेको भिण्डी टिप्दै भेटिनुभएकी फुलो सादा भन्नुहुन्छ, “पहिले बनी ९मजदुरी गर्दा पाइएको पारिश्रमिकबापतको अन्न० गरेर ल्याएको अन्न पनि आधा बेचेर रक्सी खाइन्थ्यो, अब त तरकारी बेचेर पैसा हात पर्न थालेपछि रक्सी खाएर लड्ने हाम्रो बस्तीमा भेटिन छाडेका छन् ।” खेतीले आर्जन र सञ्चय गर्ने बानी बसेपछि फजुल खर्च हुन छाडेको त्यहाँका मुसहर बताउँछन् ।
पहिले रक्सी खाएर मातेर लड्ने आफ्ना बस्तीका युवा अब भने बगर खेतीमा रमाएका बुद्धु सादाको भनाइ छ । बगर खेती सुुरु गरेयता दुई–चार हजारको गर्जो टार्न कुनै मालिक ९मुसहरले आफूले मजदुरी गर्ने अन्य समुदायकालाई मालिक भन्छन्० गुहार्नु नपरेको बुद्धु बताउनुहुन्छ । आफ्नै बस्तीका समुदायभित्रबाटै सापट पैँचोमा बिहेवारी, मरनहरण र उपचार गर्न सकिएको बुद्धुको थप भनाइ छ ।
नदीउकास बगरको करिब १२ बिघा जग्गा ६२ परिवार मुसहरलाई परिवार सङ्ख्याको आधारमा एक कट्ठादेखि तीन कट्ठासम्म उपलब्ध गराइएको छ । सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास ९महोत्तरी० को सहकार्यमा २०७५ सालमा थालिएको बगर खेतीले केही वर्षभित्रै मुसहरको स्वास्थ्य, आर्थिक र शैक्षिक सुधार देखिएको बेलगाछी बस्तीका अन्य समुदाय बताउँछन् ।
हरियो सागसब्जी र तरकारी राम्रो उब्जेपछि बस्ती नजिककै खाल्टेमा बजार बसाइएको छ । अहिले बगर खेती गरिएको ठाउँ नजिकै खाल्टे बजार जम्दै गएपछि मुसहर आफ्नो फसल नजिकै बेच्न पाएर दङ्ग छन् । “बगरमा तरकारी उब्जन्छ, छेउमै बजार लागेको छ”, मनकामना महिला समूह ‘ख’ मा आबद्ध पसुलिया सादा खुसी हुँदै भन्नुहुन्छ, “अब लाग्छ, हाम्रा दुःखका दिन गए, दुई÷चार पैसा सबैसँग छ ।”
बगर खेतीमा मुसहरलाई अभिप्रेरित गर्दै सामुदायिक विकास तथा पैरवी मञ्चले चारवटा समूह गठन गरेको छ । जसमा बस्तीका सबै घरपरिवारका महिला सङ्गठित गरिएका छन् । समूह बैठकमा बगर खेती गरिएको बालीको अवस्था, नानीहरु विद्यालय गए÷नगएकाबारे समीक्षा र समूह बचतबारे छलफल हुने गरेको छ । यस्ता बैठकमा बस्तीका गर्भवती छोरीबुहारी, सुत्केरी र ससाना नानीबारे पनि चासोपूर्वक छलफल हुने गरेको लालीगुराँस ‘क’ समूहकी पानवती सादा बताउनुहुन्छ । लालीगुराँस र मनकामना ‘क’ र ‘ख’ नाउँका चारवटा समूहमा बस्तीका सबै घरका महिला सङ्गठित छन् ।
कृषि मजदुरी नै जीवन गुजाराको पेसा भएका मुसहर माटो काट्ने र टाला बोक्ने ९माटो काटेर दुईतिर भार बनाएर काँधमा बोकिने काम० काममा अब्बल मानिन्छन् । माटोसँग खेल्नु दैनिकी नै भएका मुसहर समुदाय आफ्नो गुजाराबाहेकका अन्य सामाजिक गतिविधिमा हम्मेसी देखिँदैनन् । यद्यपि पछिल्ला दिनमा क्रमशः आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा यो समुदायको पनि चासो बढ्दै जाँदा पछिल्लो पुस्ताका नानी विद्यालय जान थालेका छन् ।
बगर खेती सुुरु गरिएयता रकम सञ्चय गर्नसँगै मुसहर समुदायमा बालवालिका विद्यालय पठाउने, बिरामी हुँदा अस्पताल जाने, हरियो सागसब्जी खाने र आफ्ना आवश्यकताका कुरामा सम्बन्धित निकायमा पैरवी गर्ने बानी बढेको बेलगाछीका अन्य समुदायका बासिन्दा बताउँछन् । मुसहर बगर खेतीमा लागेपछि बस्तीमा हुने गरेका अन्य सामाजिक गतिविधिमा सरिक हुन थालेका गौशाला–८ का बासिन्दा त्यहाँका सामाजिक, राजनीतिक कार्यकर्ता काशी महतो बताउनुहुन्छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा रु पाँच लाख खर्चेर नदीउकास बगरलाई सम्याउने, ग¥हा बनाउने र परिवारपिच्छे जग्गा बाँडीदिएपछि मुसहर बगर खेतीमा लागेका हुन् । अहिले नदीउकास बगरमा भाण्टा, परवल, लौका, फर्सी र अन्य तरकारीका बेला र बिरुवा मुसहरको श्रमले ल¥हाएका छन् । ढुङ्ग्यान र बलौटे ठाउँ हराभरा भएको छ । मुसहरले सुुरु गरेका बगर खेतीलाई गौशाला नगरपालिकाले आव २०७६÷०७७ देखि नै सहयोग गर्दै आएको छ ।
बगर खेतीमा लागेका मुसहरले आफूहरुले नङ्ग्रा खियाएको जग्गा सोनी खोलाले बर्खामा कटान गर्ने र बालु थुपारेर हैरान खेलाएको गुनासो गर्ने गरेका छन् । नगरपालिकाले जग्गा सुरक्षाका लागि तटबन्धका कार्यक्रम सञ्चालन त गरेको छ, तर खोलाको शिरानमै पक्की तटबन्ध भए दिगो सुरक्षा हुने मुसहर बताउँछन् ।
यसअघि नगरप्रमुख रहनुभएका शिवनाथ महतोले मुसहर समुदायको उत्थानका लागि थाल्नुभएको प्रयत्न अहिलेको नगर नेतृत्वले पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । गौशालाका यसपालि निर्वाचित नगरप्रमुख डा दीपेन्द्र महतोले बगर खेतीलाई अझ व्यवस्थित र सुरक्षित बनाउन सहयोग जारी रहने बताउनुभएको छ ।RSS