दोहा, : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको दोस्रो परिषद् (वार्षिक) भेला सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२१ - २०२३ कार्यकालको दोस्रो परिषद ( बार्षिक भेला ) गत शुक्रबार प्रत्यक्ष र भर्चुअल जुम अनलाइन मार्फत नेपाली राजदूतावासको सभा हलमा सम्पन्न गरिएको हो ।
एनसिसि कतारको बिधान - २००३ को ( दशौ संसोधन २०२१ ) को परिच्छेद ६ को दफा १३ को उपदफा १३.२ मा ब्यवस्था भए बमोजिम गरिएको परिषद भेला ( बार्षिक भेला ) कार्यक्रममा संघका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा द्वितीय सचिव प्रबीन भट्टराई, आईसीसी उपाध्यक्षहरु, आईसीसी सचिव लगायत कतारमा स्थापित वैचारिक संघसंस्थाका प्रमुखहरु, पत्रकार एवम परिषद् सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा ब्यानर, उट्घाटन तथा दिप प्रज्वलन गर्दै औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो ।
प्रथम उपाध्यक्ष जैवी चाम्लिङ राईको शुभकामना मन्तव्य रहेको कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष प्रेम चलाउनेले विभिन्न चरण गरि ८८ जनालाई खाद्यान्न, ७ जनालाई हवाई टिकट लगायतका विविध विवरण हरु पेश गरेका थिए ।
भेलामा संघमा कुल ४ लाख ७५ हजार ८ सय १५ रियाल बचत रहेको आयव्यय विवरण कोषाध्यक्ष विनोद बसौलाले पेश गरेका थिए भने विभिन्न राष्ट्रिय पर्वहरू एकसाथ मनाइएको, कतार च्यारीटीबाट नेपाली समुदायको लागि प्राप्त स्यानिटाइजर २० हजार ४ सय बोतल, ८१० प्याकेट ईफ्तारी (खाना) वितरण गरिएको विवरण संघ संस्था विभाग संयोजक जैवी चाम्लिङ राईले पेस गरेका थिए । एक वर्षको कार्यप्रगति विवरण पेशसहित कार्यक्रमको सहजीकरण महासचिव पदम गिरीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि ढकालले बोल्दै आफुहरु कतारमा रहेका सम्पूर्ण नेपालीको हकहितमा काम गर्ने प्रतिबद्धता सहित आएको भन्दै कतार स्थित नेपालीहरुको अभिभावक ग्रहण गर्ने दूतावास तथा एनआरएनए सङ्ग पनि सबै संघ सस्थाले समन्वय गर्नुपर्नेमा जोड दिए ।
ढकालले कतारमा वर्ल्डकप नजिकिएको हुँदा नेपाल र नेपालीले कतारलाई सक्दो सहयोग गर्नु पर्ने बताउँदै आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।
सभापति मुसलमानले बोल्दै भेलामा पेश भएका सबै विवरण पास गर्ने परिषद् सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले नेपालका सबै राष्ट्रिय पर्वहरू एनआरएनएकै नेतृत्वमा मनाउने गरेको भन्दै बार्सिक क्यालेन्डरमा भए बमोजिम "तीज" पर्व मनाउन लागिएको बताउदै कार्यक्रममा साथ सहयोग गर्ने प्रती आभार सहित धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।