नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता ल्याएर पास गर्न माग गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले उक्त विधेयक बनाउनका लागि दुई वर्षसम्म करोडौँको लगानी गरेर नागरिकता विधेयक फिर्ता गर्नु आपत्तिजनक भएको बताउनुभयो । “नागरिकता विधेयक समितिबाट पास भएर राष्ट्रियसभामा पनि आउँछ भन्ने लागेको थियो”, उहाँले भन्नुभयो, “दुई वर्षसम्म करोडौँ लगानी गरेर विधेयक फिर्ता गरियो, त्यो फिर्ता ल्याउन माग गर्छु ।”
उहाँले मधेशमा जन्मसिद्ध नागरिकता पाउनका लागि ठूलो समस्या भएको र धेरै युवा नागरिकताबाट वञ्चित भएको उल्लेख गर्दै भन्नुभयो, “यस विषयमा म गृहमन्त्रीबाट यो जवाफ चाहान्छु, त्यो फिर्ता ल्याएर पास गरी त्यसलाई अघि बढाउन माग गर्दछु ।”
उहाँले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेरमा अनाधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई लिएर अर्थमन्त्री जनार्दश शर्माले राजीनामा दिनु सकरात्मक भएको र छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गर्नुभयो । “नीतिलाई आत्मसाथ गर्नुपर्छ, राजनीतिक मूल्य मान्यता र परम्परालाई अगाडि बढाउन जरुरी छ, गलत व्यवहारमा प्रश्न उठेपछि आफैले नैतिकताका आधारमा बुझनुपर्ने हो”, उहाँले भन्नुभयो, “त्यसका लागि आन्दोलन गर्नुपर्ने ठीक होइन, सही संस्कृतिलाई स्थापित गर्नुपर्ने ठाउँमा हामी छौँ ।”
युवालाई रोजगारी, पुँजी र प्रविधिको सदुपयोग हुन नसकेको समेत उहाँको भनाइ थियो । सांसद नारायणदत्त मिश्रले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रयोग भएको भन्ने कुरामा अर्थमन्त्रीले राजीनामा दिएको तर यसअघि पनि यस्ता समिति बन्दा अर्थमन्त्रीले राजीनामा नदिएको स्मरण गर्नुभयो .
नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’