जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज यहाँ पत्रकारसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो ।
असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान दुई चरणमा विभाजन गरिएको छ । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा असार ९ देखि १४ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिनुभयो । केसीका अनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा असार १४ गते देखि १८ गते सम्म अभियान सञ्चालन हुने छ ।
जिल्लामा रहेका ७० हजार ३८२ बालबालिकालाई फाइजर –बायोएनटेक खोप दिइने उहाँले जानकारी दिनुभयो । जस अन्तर्गत भरतपुर महानगरपालिकामा ३१ हजार ४१२, रत्ननगर नगरपालिकामा ८ हजार ३७१, खैरहनी नगरपालिकामा सात हजार ३५० बालबालिकालाई खोप दिइँदैछ ।
यस्तै कालिका नगरपालिकामा चार हजार १९२, राप्ती नगरपालिकामा आठ हजार ९१४, माडी नगरपालिकामा पाँच हजार ३६३ र इच्छाकामना गाउँपालिकामा चार हजार ७८० जना बालबालिकालाई खोप लगाउन लागिएको कार्यालयले जनाएको छ ।
केसीका अनुसार अभियानका लागि ७६ हजार ८०० डोज खोप जिल्लामा आइसकेको छ । जिल्लामा रहेका ५४० खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने उहाँले जानकारी दिनुभयो । खोप अभियानमा ९४४ स्वास्थ्यकर्मी र एक हजार ३९४ स्वयंसेवीका परिचालन हुने उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिकामा २१४, रत्ननगर नगरपालिकामा ५८, खैरहनी नगरपालिकामा ६२, राप्ती नगरपालिकामा ६४, कालिका नगरपालिकामा ५३ वटा खोप केन्द्रबाट खोप लगाइँदै छ । माडी नगरपालिकामा ४१ र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप दिन लागिएको केसीले जानकारी दिनुभयो ।
हरेक विद्यालयलाई खोप केन्द्रको रुपमा परिचालन गरिने उहाँले बताउनुभयो । सामुदायिक र संस्थागत विद्यालयमा खोप खेन्द्र बनाइने छ । दुई सय बालबालिकाका लागि एकजना स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले जानकारी दिनुभयो । खोप लगाएपछि सामान्य ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने लगायतका लक्षण देखिएमा आत्तिनु पर्ने अवस्था नरहेको कार्यालयले जनाएको छ ।
गम्भीर प्रकृतिका बिरामी र उच्च ज्वरो आएका बिरामी बालबाललिकालाई यो खोप दिन नहुने सो अवसरमा जानकारी दिइएको थियो । पहिलो पटक खोप लगाएको २१ दिन पछि अर्थात साउन २ गतेबाट दोस्रो डोजको खोप अभियान सुरु गरिने केसीले बताउनुभयो । जिल्लामा हालसम्म पाँच लाख २८ हजार ९२५ जनाले कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।
यस्तै चार लाख ७० हजार ५७ जनाले दोस्रो मात्रा खोप लगाएको कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ९३ हजार ४७० जनाले बुष्टर डोज खोप लगाएका छन् । १२ वर्ष देखि माथि १७ वर्ष उमेर समूहका बालबालिका ६० हजारले खोप लगाएको उहाँले बताउनुभयो ।
जिल्लामा हालसम्म ३३ हजार ५५४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ३३ हजार १०५ जना निको भएर घर फर्किसकेका छन् भने ४४९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । अहिले सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । --