काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूललाई राष्ट्रियस्तरको नमूना विद्यालय बनाउने नीति लिएको छ । विसं २०७२ को भूकम्पले पूर्णरुपले क्षति भएपछि पुनःनिर्मित ऐतिहासिक दरबार हाइस्कुललाई कामपाले राष्ट्रियस्तरको नमूना विद्यालय बनाउने नीति लिएको हो ।
नीतिमा महानगर शिक्षा सुधार योजना, स्थानीय पाठ्यक्रमको निरन्तर पठनपाठन, ११ वटा प्राविधिक विषयको अध्यापन भइरहेकामा दुई वटा थप गर्नेलगायत विषय समावेश छन् । यस्तै वडास्तरीय सामुदायिक सिकाइ केन्द्र स्थापना र सञ्चालन, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नियमित स्वास्थ्य जाँच, विद्यालयमा अग्नि नियन्त्रण उपकरण जडान, ई–लाइब्रेरी सञ्चालन गर्नेलगायत कार्यक्रम आइतबार कामपाका प्रमुख बालेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै स्वास्थ्यतर्फ स्वास्थ्य नीतिमा वडा क्लिनिकको स्तरोन्नति गरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने, करदातालाई बीमाका लागि आवश्यक प्रबन्ध मिलाउने जसका लागि कामपाले ५० प्रतिशत अनुदान दिने, विपन्नलाई निःशुल्क श्ययाको प्रबन्ध गर्ने र आयुर्वेद पद्धतिलाई प्रवद्र्धन गर्नेलगायत नीति छन् । स्वास्थ्य सेवाको गुणस्तर र पहँुच अभिवृद्धि गर्नका लागि महानगर जनस्वास्थ्य ऐन जारी गर्ने महानगरको नीति रहेको छ । नागरिक आरोग्यता प्रवद्र्धन गर्न आहार, विहार, ध्यान, योग, प्राणायाम आदिबारे सचेतना फैलाउने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, एक विद्यालय एक नर्स र स्कूल सोसियल वर्कर कार्यक्रम रहेका छन् ।
सडक, ढल, खानेपानीका पाइपलाइन, सडक, बत्ती टेलिफोनलगायत भौतिक पूर्वाधारको डिजिटल प्रोफाइल तयार पार्ने नीतिलाई पूर्वाधार विकास नीतिमा राखिएको छ । बिग्रेका पूर्वाधारलाई थप क्षति हुन नदिन तत्काल मर्मतसम्भारका लागि अहिले सञ्चालनमा ल्याइएको इन्फ्रास्ट्रक्चर एम्बुलेन्सलाई आवश्यकअनुसार सामग्री र जनशक्तिसहित थप गर्ने नीति महानगरको छ ।