दोहा - नेपाल मगर संघ कतार शाखाको मातहतमा रहेको नेपाल मगर सांस्कृतिक परिवारले भूम्या पर्व–२०७९ भव्यतका साथ बनाएको छ ।
प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो । दोहा सालिमार होटलको सभाहलमा गत शुक्रबार मगर युवायुवतीसहित सबै उमेर समूहका व्यक्तिहरु सांस्कृतिक झाँकी र मौलिक भेषभुषामा सजिएर रमेका थिए ।
नेपाल मगर सांस्कृतिक परिवार कतारका अध्यक्ष दीपक एक्चाई मगरको अध्यक्षता तथा संघका अध्यक्ष विवेक पुलामी मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नका लागि यो पर्व मनाइने गरिन्छ । यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ । विगतमा मगरले मात्रै मनाउने यो पर्व अहिले अन्य जातिले समेत मनाउन थालेको कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले बताए ।
कार्यक्रमका आकर्षक मगर संस्कृतिको मौलिकता झल्काउने भूम्या नृत्य, सालैजो, कौरा, लोक तथा आधुनिक गीतहरूमा जनक थापा मगर, टेक रसाइलीका साथै थुप्रै स्थानीय कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
सांस्कृतिक सचिव पाण्डप थापा मगर र केन्द्रीय महासचिव लोक सिंजाली मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष मगरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । सन् २०२२/२३ सांस्कृतिक बाङ राजा विनोद राना मगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पुरुषोत्तम सुनुवार, बुद्धिजीवी तथा समाजसेवी लगायत मगर तथा गैर मगरहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।