एमाले नेता लालबाबु पण्डित सामान्य प्रशासनमन्त्री हुँदा पिआर तथा ग्रिनकार्ड लिएका कर्मचारीलाई कारबाही गर्ने अडान लिएपछि चर्चामा आए । त्यसो त उनी त्यसअघि पनि पार्टीमा कर्मठ तथा इमानदार नेताका रूपमा चिनिन्थे । तर, उनी कसरी लागे त राजनीतिमा ? नयाँ पत्रिकाका
विश्वास खड्काथोकीले प्रश्न गरे । उनले भने:
एसएलसी पास गरेपछि म मेडिकल क्षेत्रमा जान चाहन्थेँ । त्यतिवेला हेल्थ असिस्टेन्सको पढाइ हुने भनेको नेपालको एक मात्र त्रिवि शिक्षण अस्पताल थियो । मैले परीक्षा दिएँ र पास पनि भएँ । तर, अन्तर्वार्तामा जाँदा ‘भाइ पुड्को भयौ’ भन्दै फर्काए । त्यसपछि इन्जिनियरिङ पढेँ । इन्जिनियरिङ सक्काएसँगै आर्मीको सेकेन्ड लेफ्टिनेन्टमा जागिर खाने रहर जाग्यो । त्यहाँ पनि मलाई सोधियो, ‘माथिल्लो तहमा तपाईंको को छ ?’ मैले भने, ‘कोही छैन ।’ यत्ति मात्र के भनेको थिएँ, मलाई ‘तिम्रो यहाँ हुँदैन’ भनेर फर्काइयो । त्यसबीच म अन्य ठाउँमा पनि पुगेँ, तर म जहाँ–जहाँ जान्थेँ त्यहाँ–त्यहाँ विभेद भोग्थेँ । यो भोगाइले ममा विद्रोह जन्मिँदै थियो । मैले इन्जिनियरिङ सकेपछि बालाजु औद्योगिक क्षेत्रमा जागिर खान थालेँ । त्यहाँ राणा थरका मानिसहरूले खुब हेप्थे । त्यो हेपाइबाट बच्न एउटा संगठित शक्ति चाहिन्छ भन्ने लाग्यो । र, हामी मजदुर एकजुट हुन थाल्यौँ । त्यो संगठित टिमलाई २०३६ सालमा नेपाल स्वतन्त्र मजदुर युनियनको रूप दियौँ । मजदुर एकताका निम्ति हामीले युनियन स्थापना गरेका थियौँ । जुन संस्था पछि ‘जिफन्ट’ भनेर चिनिन थाल्यो । हो, यो कुरामा अहिले पनि मलाई गर्व लाग्छ– जिफन्ट मेरो कोठाबाट सुरु भएको हो । २०३६ सालमा हामीले देशव्यापी मजदुर आन्दोलन ग-यौँ । त्यसको नेतृत्व मैले लिएको थिएँ । त्यतिवेला अन्तर्राष्ट्रिय मे दिवस मनाउन पाउनुपर्छ, मजदुर युनियन खोल्नका लागि वैधानिक व्यवस्था हुनुपर्छ, आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आरामको व्यवस्था हुनुपर्छ, शिशु स्याहार केन्द्र स्थापनालगायतका २७ सूत्रीय माग राखेर आन्दोलनमा उत्रिएका थियौँ । त्यतिवेलै पहिलोपटक पक्राउ पनि परेँ । पक्राउपछि चार दिन डिएसपी अफिसमा, २९ दिन केन्द्रीय जेलमा राखियो । जेलमा मलाई सधैँ एक्लै राखिदिन्थे । त्यो निकै ठूलो सजाय थियो । मजदुर आन्दोलनकै क्रममा ०३७ सालमा फेरि जेल परेँ । त्यतिवेला हनुमानढोकामा दुई दिन र भद्रगोल जेलमा २६ दिन राखियो । अब हामीलाई राजनीतिक शक्तिको अभाव महसुस हुन थाल्यो । त्यसैले पनि होला, नजानिँदो पाराले तत्कालीन मालेसँग नजिक हुन पुग्यौँ । तेस्रो पटक ०३८-३९ सालमा जेल परेको थिएँ । जतिवेला ९६ दिन जेलमा राखियो । चार दिन गोलघरमा पनि बस्नुपरेको थियो । गोलघरलाई जेलको पनि जेल भनिन्थ्यो । जहाँ खाने, बस्ने, ट्वाइलेट गर्ने एउटै कोठामा गरिन्थ्यो, प्रकाशसम्म कोठाभित्र छिर्ने थिएन । जेलमा रहँदा त्यतिवेलाका सबै नेतासँग संगत हुन पुग्यो । सिपी मैनाली, केपी ओली, राधाकृष्ण मैनाली, विजय गच्छदारलगायतका सबै नेतासँग त्यतिवेलै भेट भएको हो । म त विद्यार्थी कालमा पनि राजनीति नगरेको मान्छे । त्यतिवेलासम्म पनि पार्टीमा लगाव थिएन । मालेसँग सहकार्य गरेर केही कामचाहिँ भएका थिए । त्यसैक्रममा कार्लमाक्स, लेनिन, माओत्सेतुङलगायतका पुस्तक पढ्न थालेको थिएँ । यी सबै अवस्थाले म कम्युनिस्ट बनेँ । ४० सालतिर म भूमिगत भएँ । भूमिगत राजनीतिमा पार्टीको नेताबारे त्यति धेरै थाहा हुँदैनथ्यो । तर, सुरुदेखि नै जननेता स्व. मदन भण्डारीलाई सहयोग गरेँ । मेरो काम नै उहाँलाई सहयोग गर्नु थियो । एक वर्ष भूमिगत भइसकेपछि ०४१ सालमा मैले पार्टी सदस्यता लिएँ । पार्टी सदस्यता लिएसँगै विधिवत् राजनीतिको सुरुवात भयो । असमानता, विभेदलाई हटाउन म राजनीतिमा आएको हुँ । -