नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उहाँले नीति कार्यक्रममा अपुग भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधनका क्रममा समेट्नुहुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
राजनीतिक दलकाबीचमा साझा धारणा निर्माण गरी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय समस्या समाधानका लागि पनि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । एक अर्कालाई दोषारोपण गरेर मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै उहाँले मुलुकको समस्या समाधानका लागि साझा प्रयास, संकल्प आवश्यक रहेको उल्लेख गर्नुभयो ।
“देशको विद्यमान समस्या समाधान गर्नका लागि एकै ठाँउमा उभिनुपर्ने बेला राजनीतिक दल एक आपसमा घोचपेच गर्ने, दोषारोपण गर्नेतर्फ लागेकामा मलाई चिन्ता लागेको छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा कुन राजनीतिक दलको सिट कति बढ्यो वा घट्यो भन्दा पनि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो वा बढेन भन्ने विषय नै यतिबेलाको प्रमुख विषय हो ।”
माओवादी केन्द्रको सहयोगमा नै उहाँ (केपी ओली) दुईदुई पटक प्रधानमन्त्री बन्नुभएको तथ्य नबिर्सन आग्रह गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “तपाईं माओवादी केन्द्रको वैशाखी टेकेर नै दुईदुई पटक प्रधानमन्त्री बन्नुभएको होइन ?” प्रतिपक्षी दलका नेता दम्भ, अहंकारबाट पछि हट्न नसकेको आफूले पाएको उल्लेख गर्दै उहाँले आजको परिस्थिति कसले बनायो ? त्यसको जिम्मेवारी कसले लिने भनी प्रश्न गर्नुभयो ।
एउटा शक्तिका साथ माओवादी एमाले अध्यक्ष ओलीसँग बहस गर्न तयार रहेको उल्लेख गर्दै उहाँले सरकारको नीति तथा कार्यक्रममाथि उहाँ (ओली)ले गरेको टिप्पणीमा नै विरोधाभाष रहेको बताउनुभयो । “नीति कार्यक्रम गतिहीन छ भनेर पनि भन्ने, अनि एमाले सरकारले ल्याएको नीति कार्यक्रम सारेर ल्याइयो पनि भन्ने ? प्रतिपक्ष दलको नेताले राख्नुभएको विषय विरोधाभाष छैन र ?”, उहाँले भन्नुभयो ।
शान्ति प्रक्रिया र संविधानसभामार्फत अगाडि बढेको राजनीतिक प्रक्रियामा आफूहरु सहभागी हुँदै आइरहेको तथ्य पेश गर्दै उहाँले शान्ति सम्झौतालाई अपमान गर्ने काम कोही कसैले पनि गर्न नहुने बताउनुभयो । “एकले अर्कोलाई अपमानित गर्ने, निषेध गर्ने तरिकाले लियौँ भने यो राजनीतिक प्रणालीमार्फत नेपाली जनतालाई दिन खोजेको कुरा दिन नसकिँदैन”, उहाँले भन्नुभयो ।
तत्कालीन नेकपाको सरकार र पार्टीभित्र हुनथालेको जनविरोधी गतिविधिका विरुद्ध आफूहरुले प्रश्न उठाएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा सरकारको नीति तथा कार्यक्रम जनपक्षीय भएन भनेर टिप्पणी गरिएको, नेकपाकै सांसदले प्रश्न उठाउनुभएको होइन ? जनताको पक्षमा नभएको भनिएको होइन ? निर्वाचनका बेला जारी गरिएको घोषणापत्रअनुसार बजेट र नीति कार्यक्रम आए त ?”
अध्यक्ष दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर भए पनि जनतालाई राहत दिन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेको सदनलाई जानकारी दिनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका विषयमा प्राथमिकता दिएकाले सही मार्गमा डोहोरिएको बताउनुभयो ।
मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिँदै उहाँले दक्षिण छिमेकी मुलुकले केही खाद्यान्न निर्यातमा रोक लगाएका अवस्थालाई अवसरका रुपमा लिनुपर्ने बताउनुभयो । “नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि के कस्ता नीति बनाउनुपर्ने, के कस्तो मेहनत गर्नुपर्ने अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।”