स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुअघि राजनीतिक दल परित्याग र प्रवेशको लहर चलेको थियो । विभिन्न दलका नेताहरू आफ्नो पुरानो पार्टी छोडेर नयाँ दलमा आबद्ध भइरहेका थिए । केहीले नयाँ पार्टीबाट उम्मेदवार भए भने कतिपयले टिकट नै पाएनन् ।
राजनीतिक दल परित्याग गर्ने र नयाँ पार्टीमा प्रवेश गर्ने क्रम राष्ट्रिय दलको मान्यता प्राप्त सबै दलमा देखिन्थ्यो । तर, स्थानीय तहमा मतदान गर्न चार दिन बाँकी रहेको बेलामा समेत राजनीतिक दल परित्याग र प्रवेश गर्ने क्रम रोकिएको छैन ।
सोमबार काठमाडौं महानगरपालिका–२४ का उम्मेदवारले नै पार्टी परित्याग गरेका छन् । नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार रहेका राजेन्द्र श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले काठमाडौंका सचिव राजेश शाक्यले श्रेष्ठसहित २४ जना स्थानीय नेताले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको बताए । शाक्यले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै आगामी दिनमा कार्यक्षमताको आधारमा उचित जिम्मेवारी दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
यसअघि माओवादीबाट वडा नम्बर १३ र १५ मा वडाध्यक्षका उम्मेदवार समेत एमालेमा प्रवेश गरेका थिए । एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार १३ का वडा अध्यक्षका उम्मेदवार रामशरण डंगोल र १५ का वडा अध्यक्षका उम्मेदवार रत्नकाजी महर्जन माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरिसकेका छन् ।
एमाले प्रवेश गर्दै श्रेष्ठले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना र एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । स्थानीय तहको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डले नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको आरोप श्रेष्ठको रहेको छ । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।