माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको प्रभावमा सरकार चलिरहेको देखिन्छ।
'वेस्ट मिनिस्टर' प्रणालीमा प्रधानमन्त्री शक्तिशाली हुनुपर्ने हो। मन्त्रिपरिषद् प्रधानमन्त्रीकै 'कन्ट्रोल'मा हुनुपर्ने हो। तर, प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको छायाँमा परेर निरीह देखिएका छन्।
देउवामा पुनः प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा देखिन्छ। त्यसका लागि उनी यो गठबन्धन गुमाउन चाहँदैनन् । यो कुरा बुझेका दाहाल र नेपालले देउवालाई 'ट्रयाप'मा राखेर राजनीतिक फाइदा लिइरहेका छन्।
दाहाल र नेपाल जे भन्छन्, त्यही गरिरहेका छन् प्रधानमन्त्री देउवा। उनीहरूका आफन्त, नजिक नेता, कार्यकर्तालाई धमाधम नियुक्ति दिइरहेका छन्। आफ्नो पार्टीका नेतालाई धपाएर गठबन्धन दलका नेताको दबाबमा मन्त्री, राजदूत बनाउन देउवा बाध्य देखिन्छन्।
वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल गठबन्धन टिकाएर अघि बढ्नुपर्ने बाध्यता देउवालाई रहेको बताउँछन्। भन्छन्, 'यो चुनावको मुखमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन प्रक्रियामा जानुपर्ने आवश्यकता थिएन। गभर्नरलाई नचलाएको भए हुन्थ्यो।'
राजनीतिक विश्लेषक डम्बर खतिवडा दाहालले सरकारलाई दबाबमा राखेको देखिएको बताउँछन्। देउवा दाहालसँग दिक्क भए पनि बाध्यताको कारण सहनु परिरहेको खतिवडाको विश्लेषण छ। 'प्रचण्डको सधैं शक्तिशाली रहने आकांक्षाबारे उहाँ (प्रधानमन्त्री) लाई थाहा छ', खतिवडा भन्छन्, 'उहाँ प्रचण्डसँग दिक्क हुनुहुन्छ। तर उहाँ (प्रधानमन्त्री)लाई बाध्यता पनि छ।'
एमाले उपाध्यक्ष युवराज ज्ञवाली एमालेलाई पराजित गर्न कठिनाइ देखेपछि प्रधानमन्त्रीले नाजायज माग पूरा गरेर भए पनि गठबन्धन टिकाइरहन चाहेको बताउँछन्। 'प्रधानमन्त्रीले अबका चुनावमा एमालेसँग प्रतिस्पर्धा गर्न कठिन देख्न भएको छ। उहाँ सत्ता टिकाइरहन र आगामी चुनावबाट पुनः सत्तासीन हुने सपना देखिरहनुभएको छ। एक्लै सम्भव नहुने उहाँको बुझाइ छ', उपाध्यक्ष ज्ञवाली भन्छन, 'त्यही बुझाइले गर्दा उहाँ गठबन्धन नटुटाउने, नबिच्क्याउने बरु उनीहरूका नाजायज माग पनि पूरा गर्न लागि रहनुभएको छ।'
कांग्रेसका युवा नेता गुरुराज घिमिरे गठबन्धनका नेताबाट ट्रयाप पर्ने कोसिस हुने हुँदा प्रधानमन्त्री स्वयं सचेत हुनुपर्ने बताउँछन्। 'ट्रयाप परेर फाइदा लिने कोसिस हुन्छ। उनीहरूले बढीभन्दा बढी लाभ लिन खोज्छन् नै', नेता घिमिरे भन्छन्, 'तर अहिलेको अवस्थामा स्थानीय औचित्यका आधारमा मात्रै तालमेल हुन्छ।' अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले खबर लेखेका छन् ।