गण्डकी प्रदेश- गण्डकीका युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझालाई आफुले नकुटेर सम्झाएको बताएका छन।
मन्त्री मनाङेले त्यस्ता कर्मचारीलाई झाप्पु हान्नुको औचित्य नभई सम्झाएको हुँ! भन्दै मन्त्रालयका सूचना अधिकारी समेत रहेका ओझालाई दुर्व्यवहार गरेको आरोप सहितको खबर सामाजिक संजालमा बाहिरिएपछी स्पस्टिकरण दिएका थिए।
उनले भने मेरो मन्त्रालयमा ३ करोड २४ लाखको युवा स्वरोजगारको प्रोजेक्ट आएकोमा, त्यसले ३४ करोड लेखेछ, अर्थ र कानुन मन्त्रालयबाट पास भयो, क्याबिनेटमा लैजाँदा मन्त्रालयको युवा स्वरोजगार कार्यक्रममा आफूले दिएको सुझाव भन्दा उल्टो लेखेकाले सम्झाउनु परेको उनले बताए।
युवा स्वरोजगारको योजना आफूले अध्ययन नगरी स्वीकृतिका लागि अर्थ र कानुन मन्त्रालय पठाएको उनले बताए।ती दुबै मन्त्रालयबाट पनि अध्ययन नै नगरी पास भएको उनको भनाइ छ।गण्डकीका भौतिक पूर्वाधार मन्त्री एवं प्रवक्ता कुमार खड्काले अध्ययन गरेपछि मात्र आफूले उल्टो लेखेको थाहा पाएको मनाङेले बताए। ‘मन्त्री कुमार खड्काले पढेछन्, क्याबिनेटमा हामी सबै मन्त्री जेल जानुपर्ला यस्तो पर्पोजलले भन्यो,’ उनले भने, ‘त्यहाँ मेरो कत्रो बेइज्जत भयो।
यसबारे शाखा अधिकृत ओझासँग कुरा गर्दा मिस्टेक भएर एउटा शून्य बढी भएको बताएको मनाङेले बताए। त्यसपछि आफूले प्रस्ताव पढ्दा अक्षरमा लेखिएकोमा पनि ३ करोड २४ लाख हुनुपर्नेमा ३४ करोड लेखिएको मनाङेको दाबी छ। शाखा अधिकृत ओझालाई बोलाएर आइन्दा यस्तो नहोस् भनेर सम्झाएको उनले दोहोर्याए। यसअघि पनि ओझाले युवा स्वरोजगारका कार्यक्रम वितरण गर्दा बाहिर डिल गर्ने र घुस खान खोजेको सूचना आफूले पाएको उनले दाबी गरे।
युवा स्वरोजगार कार्यक्रमको प्रस्ताव लेख्दादेखि नै भ्रष्टाचार गरेको सूचना आफूले पाएको भन्दै ओझालाई कारबाही गर्न ५ सदस्यीय आयोग बनाउने मनाङेले चेतावनी दिए। ‘युवा छ, किन करियर खत्तम गरिदिने भनेर बसेको थिएँ, अब ५ जनाको आयोग बनाएर छानबिन गर्छु,’ उनले भने, ‘३ जना मन्त्रालयको राख्छु, २ जना बाहिरको मान्छे राखेर त्यसलाई जेल हाल्छु।’ओझाले आफूलाई फसाउन डिजाइन गरेको समेत मनाङेले आरोप लगाए।
मंगलबार भएको कुराकानी आज कुटपिट भनेर बाहिर ल्याएको भन्दै उनले कर्मचारी युनियनसँग मिलेर आफूविरूद्ध डिजाइन गरेको आरोप लगाए। युवा स्वरोजगार कार्यक्रमको प्रस्तावमा अनुदान पाउने व्यक्तिको समूह ५१ प्रतिशत ४० वर्षभन्दा कम उमेरको मात्र भनेर लेखेकोमा पनि मनाङेले आपत्ति जनाए। ‘मनाङ, मुस्ताङमा ५० वर्ष नाघेका कृषिमा लागेका छन्, उनीहरूले २, ४ लाख भए पनि पाउँथे नि,’ उनले भने, ‘पैसा दिनै नमिल्ने गरी लेखेछ।’आउँदो स्थानीय निर्वाचन आचारसंहिता लागू हुनुअघि नै आफूले अनुदान वितरण गर्न चाहेको उनले बताए।‘अब आचारसंहिता लाग्छ, यो पैसा समयमा दिन पाइँदैन,’ उनले भने, ‘यसलाई जेल नहाली भएन।’यो समचार सेतोपाटीमा लेखिएको छ।