चिसो बढ्न थालेसँगै गत असोज÷कात्तिकमा लेकबाट बेँसी ल्याइएका दर्जनौ भेँडी गोठका भेँडाबाख्रा गर्मी बढेसँगै पुनः चरण क्षेत्र लेक तथा उच्च हिमाली भेगमा पुगेका छन् ।
जाडो छल्न जिल्लाका विभिन्न स्थान तथा बेँसी ल्याइएका घुम्ती भेँडीगोठ यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आ–आफ्ना भेडाका बथान पु¥याएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा साना ठूला गरेर ३०० भन्दा बढी घुम्ती भेँडीगोठ रहेका र ती सबै बेँसीबाट चरण क्षेत्र लेकमा पुगिसेका छन् ।”
सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौँली चलन तथा पेसाका रुपमा भेडिगोठलाई हेरिन्छ । भेँडीगोठ वर्षेनी छ महिना लेक र छ महिना बेँसीमा राख्ने गरिन्छ । भेँडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरीनजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँसम्म पुग्ने गरेको भेँडीगोठालाको भनाइ छ ।
अधिकांश भेँडीगोठ लेकतर्फ लागिसके पनि घलेगाउँका भेँडीगोठ भने बेँसीमै रहेको स्थानीय दिर्घराज घलेले बताउनुभयो । उहाँका अनुसार घलेगाउँका दुई भेँडीगोठ रहेका छन् । जेठ महिनामा मात्र लेक जाने यहाँका भेँडीगोठ लमजुङ हिमालको काखमै रहेको ठुले लेकमा पुग्ने गर्दछन् ।
बेँसीमा रहेका बेलामा भँेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेँडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत बनाउनका लागि प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका छन् । वार्षिक १० हजार किलो ऊन निस्कने र ऊनको मूल्य प्रतिकिलो रु ३०० रहेको छ । त्यस्तै वार्षिक १६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ ।
मासु बिक्रीबाट रु आठ करोड आम्दानी हुने गरेको उक्त केन्द्रका प्रमुख डा श्रेष्ठले बताउनुभयो । त्यस्तै उहाँका अनुसार वार्षिक घुम्ती भेँडीगोठमा रहेका बाख्राको मासु १२० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा रु ६० करोड आम्दानी हुने गरेको छ ।