गणेश क्षेत्री- मुलुकमा दिनप्रतिदिन घट्ने बलात्कारका कहालीलाग्दा घटनाले आफ्ना चेलीबेटी कसरी बचाउने भन्ने सन्त्रासले नेपाली समाजमा एक प्रकारको भयभित वातावरण सृजना भएको छ।
दिनहु जसो गाउँ देखी शहर सम्म फरक फरक प्रकृतिका असोचनिय अशोभनिय र शब्दमा वर्णन गर्न पनि नसकिने कुकृत्य जघन्य अपराध घटिरहेका छन।बृद्ध महिला देखि दुधे नाबालिका सम्मलाई बलत्कारी निकृष्ट मनोवृत्तिका यौन पिपासुहरुले बलत्कार मात्र होईन, बलत्कार पश्चात उस्को घाँटी रेटेर टाउकोमा ढुङ्गाले किचेर अत्यन्तै कारुणिक र बिभत्स तरिकाले हत्या समेत गरेका घृणित घटनाहरुले सबैलाई एकपटक सोच्न बाध्य बनाउछ। हाम्रो समाज कतातिर जादै छ? हामी कस्तो देशमा जन्मियौ? हाम्रो धर्म संस्कार संस्कृती पहिचान के हो? हाम्रो संबिधान, कानुन,ब्यबस्था र अबस्था के छ?यी बलत्कारी घटना वृद्धि हुनमा तपाईं हामी र स्वयं राज्य कै कमजोरीपन त होईन? यस्तै यस्तै हजारौ प्रश्नहरुले मानसपटलमा खेल्ने गर्छन?रेडियो पत्रपत्रिका सामाजिक संजाल खोल्यो कि कहिले बाबुबाट छोरी, दाजु बाट बहिनी , हजुरबुवाबाट नातिनी,शिक्षकबाट छात्रा, गजेडी जाड्याहा बाट नाबालिका, नायक बाट गायिका बलात्कार भएका घटना दिनहु सुन्ने गरिन्छ।
नेपालमा राणा, पञ्चायत बहुदल हुँदै २०६२/६३ का ठुला ठुला जन-आन्दोलन भए हजारौले ज्यान गुमाए अन्याय अत्याचार र निरंकुशताको अन्त्य गरी सवै नागरिकको समान हक अधिकार र सुशासनको लागि हजारौले बलिदानी दिए।त्यस वापद नेपाली राजनिती र ब्यबस्थामा भएका उल्लेखनीय परिवर्तनलाई नकार्न सकिन्न। महिलाहरुका हक अधिकार सुनिस्चिताका साथै देशकै प्रमुख अभिभावकको रुपमा महिला नै रास्ट्रपति बनाईयो, राष्ट्रका प्रमुख अंगहरुमा महिला नै पुग्नुभयो तर बिडम्बना आमाको काखमा दूध चुस्दै गरेकी नाबालिका खोसिएर लुटिनुपर्ने जबर्जस्ति बलत्कृत हुनुपर्ने र बलत्कार पछि ज्यान गुमाउनु पर्ने अवस्था कहिले रोकिएन किन? राज्यलाई यो प्रश्न सोध्न मन छ।
कञ्चनपुर भीमदत्त नगरपालिकामा बिसं २०७५ साउन १० गते बलत्कार पश्चात् हत्या गरिएकी १३ वर्षिया किशोरी निर्मला पन्त,बिसं २०७७ माघ २२ गते बलत्कार पश्चात् निर्मम हत्या गरिएकी बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ७ चडेपानीकी १७ वर्षिया किशोरी भागीरथी भट्ट, बझाङको मस्टा गाउँपालिका–२ मा २०७७ असोज ७ गते गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी किशोरीलाई बलत्कार पश्चात् त्रिशूल रोपेर हत्या गरिएकी १२ वर्षिया सम्झना विश्वकर्मा,जनकपुर उपमहानगरपालिका–१ मुसहरी टोलकी १२ वर्षीया विविका साहको हत्या,मकवानपुर बागमती गाँउपालिका–७ लामिटारकी रुविना पाख्रिनको बलात्कारपछि हत्या, कास्की पोखरा २२ बलात्कारपछि हत्या गरिएकी १० बर्षिय श्रेया बिक को घटना हओस सबै कहालीलाग्दा र मर्मस्पर्शी रहेका छ्न।
मुलुकका विभिन्न क्षेत्रमा घटेका घटनाहरु पश्चात् बुद्धिजीवी, महिला अधिकार कर्मी समाजसेवी तथा सर्वसाधारण ब्यक्तिहरुले घटना भएको सुन्ने बित्तिकै बलत्कारीलाई फाँसी दे !भन्दै चर्का नाराबाजी शुरु गर्छन।तर ती नारा नारामै सिमित रहन्छन। बलत्कार र बलत्कार पश्चात् बीभत्स हत्या गरि फाल्ने हत्याराहरुलाई कडा सजाय दिनुको बदलामा जनताको करबाट उठेको राज्यको ढुकुटीबाट राज्यको संरक्षणमा पालिन्छ के यो जायज छ? के यस्ता अपराधिलाई उपरान्त बाच्ने अधिकार छ? राज्यको ढुकुटीबाट पाल्न जरुरी छ? समाजमा बलत्कारीहरुलाई उसको अपराध गरे अनुसारको बर्तमान संबिधान र कानुनमा कडा कार्बाही उल्लेख नभएकै कारण बलात्कारका घटनामा वृद्धि हुँदै गएको आम नागरिकको बुझाई छ।
भर्खरै मात्र अंश बन्डा लिई दोस्रो बिवहा गर्ने महिलाहरुको सम्पत्ति फिर्ता हुने ऐन बनेको छ के यसै गरि यौन पिपासु बलत्कारी हत्याराको पहिचान भईसकेपछी घटनाको प्रकृति हेरी जेल सजाय,लिङ्ग छेदन,फाँसी समेत दिने कानुन परिमार्जन गर्न सकिँदैन?के दुधे नाबालिकालाई पटक पटक करणी गरि ढुङाले टाउकोमा किचेर मार्ने कुख्यात अपराधीलाई आजिवन काराबास अथवा जेल सजाय नै प्रयाप्त छ? सोच्ने बेला आएको छ।
हरेक मुकुकका संविधान ,ऐन कानुन समय सापेक्ष राज्यले परिवर्तन गर्दै कार्यन्वयन गर्ने कुराहरु हुन।यी समय काल ब्यबस्था र अबस्थालाई प्रमुखतामा राखेर परिमार्जन गरि कार्यन्वयन गर्दै जाने हो।हाम्रै छिमेकी देश भारतमा पनि यदि बलत्कारी भएको प्रमाणित भएमा फाँसी दिने कानुन छ । के नेपालमा पनि घटनाको प्रकृति हेरी बलत्कार गरेको प्रमाणित भएमा लिङ्ग छेदन र फाँसी समेतको कडा कार्बाही गर्ने कानुनमै सुनिस्चित भईदिए आगामी दिनमा कुनै नाबालिका पनि यौन पिपासुको सिकार बनेर मर्नु पर्दैनथ्यो कि?