तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित छाङपाटन मोटरमार्ग कालोपत्र भएको छ । गाउँपालिकाले रु ७० लाखको लागतमा उक्त मोटरमार्ग कालोपत्र गरेको हो । एक हजार १५० मिटर सडक कालोपत्र गरिएको वडाध्यक्ष शिवबहादुर आलेले जानकारी दिनुभयो ।
मोटरमार्ग कालोपत्र नहुँदा धुलाम्य बाटो भएर यात्रा गर्न सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । मोटरमार्ग कालोपत्रे भएसँगै सर्वसाधारणलाई आवतजावतका लागि सहज भएको छ । मोटरमार्ग कालोपत्र भएसँगै नयाँबस्ती, झिरुबास, हटियालगायतका ठाउँका सर्वसाधारण लाभान्वित भएका छन् ।
कालोपत्र भएको मोटरमार्गको शनिबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकामा पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो । सडक, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सबै वडामा विकास निर्माणका काम भएको बताउँदै स्थानीय तहमा निर्वाचित भएको पाँच वर्षको अवधिमा देखिने काम गरेको बताउनुभयो ।
चेम्बर अफ कमर्सको अध्यक्षमा अधिकारी
तनहुँ चेम्बर अफ कमर्सको अध्यक्षमा खेमराज अधिकारी चयन हुनुभएको छ । बन्दीपुर गाउँपालिका–५ स्थित मस्र्याङ्दी रिसोर्टमा शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट अधिकारीका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट कमर्सको वरिष्ठ उपाध्यक्षमा कविराज श्रेष्ठ, उपाध्यक्षमा पूर्ण श्रेष्ठ र मनोज अधिकारी, महासचिवमा विष्णु पराजुली, सचिवमा किशोर खनाल, सहसचिवमा नगेन्द्र पौडेल, कोषाध्यक्षमा विन्दुलाल श्रेष्ठ र सहकोषाध्यक्षमा दानबहादुर घर्ती चयन हुनुभएको छ ।
लोकतान्त्रिक महासङ्घमा गुरुङ
नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ तनहुँको अध्यक्षमा रगबहादुर गुरुङ चयन हुनुभएको छ । महासङ्घको शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा अमरराज थापा, सचिवमा शेरबहादुर बोटे, सहसचिवमा कमला भुजेल, कोषाध्यक्षमा रेशमबहादुर थापा चयन हुनुभएको छ । सदस्यमा गिरबहादुर थापा, देउबहादुर थापा, बुद्धसिं थापा, पार्वती गुरुङ, मीनबहादुर गुरुङ, छविलाल श्रेष्ठ, हेममाया थापा, झमबहादुर थापा, शेरजङ्ग थापा, ईश्वरी श्रेष्ठ, टेकबहादुर थापा, रोशन श्रेष्ठ, टेकबहादुर भुजेल, आलोक कुमाल, जुननारायण श्रेष्ठ, यामकुमारी भुजेल, सुष्मा कुमाल, बेलकुमारी, भीमबहादुर गुरुङ, रितबहादुर थापा, अम्बर गुरुङ, मनकामना थापा, पार्वती घर्ती, सूर्यकला घर्ती, अनिल गुरुङ, दिलबहादुर तामाङ चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले जातीय आन्दोलन नभई वर्गीय आन्दोलन अहिलेको आवश्यकता रहेको बताउँदै आदिवासी जनजातिको हकअधिकार सुनिश्चितताका लागि एमाले सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
जोशीमाथिको कारबाही फिर्ता लिन माग
नेपाली कांग्रेस भानु नगर कार्यसमितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि केन्द्रीय कार्यसमितिले गरेको कारवाही फिर्ताको माग गरेको छ । भानु नगरसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले जोशीमाथिको कारबाही फिर्ता गर्न माग गरेको हो ।
बैठकले जोशीसहितका कार्यकर्ता असन्तुष्टि भई पार्टीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारबाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला कार्यसमितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि केन्द्रीय समितिले जोशीलाई कारबाही गरेको थियो । यसयता जोशीले स्वतन्त्ररूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आउनुभएको छ ।रासस