काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको नीति, योजना र निर्णयमा कुनै विवाद नरहेको जानकारी गराउनुभएको छ ।
महानगरका क्षेत्रगत काममध्ये मूर्तअमूर्त सम्पदा जोगाउन, सम्बद्र्धन तथा प्रवद्र्धन गर्न लिइएका नीति, बनाइएका योजना र त्यसको कार्यान्वयनका लागि विनियोजन गरिएको बजेटका विषयमा पत्रकारलाई जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही पुराना योजनालाई लिएर मात्रै आलोचना गरिएको पनि बताउनुभयो ।
जनप्रतिनिधिका रूपमा पदवहाली भएपछि काठमाडौँ महानगरले सम्पदा पुनर्निर्माण, संरक्षण र प्रवद्र्धनका लागि गरेका कामका विषयमा आज यहाँ पत्रकारसम्मेलन गरी उहाँले जानकारी गराउनुभएको हो ।
“संस्थागत निर्णयमा गर्दा पदाधिकारीबीच छलफल र परामर्श हुन्छ, महानगरका निर्णय गर्ने, योजना बनाउने पद्धति छ, जिम्मेवारी छ, त्यसैअनुरूप भएका कुनै पनि योजनामा विवाद छैन, हामीले सम्पदा संरक्षण र प्रवद्र्धनका काम गर्दा प्राचीन स्मारक ऐन, २०१३ को कानूनी व्यवस्थालाई नाघेका छैनौँ”, प्रमुख शाख्यले भन्नुभयो । उहाँका अनुसार भौतिक सांस्कृतिक सम्पदातर्फ काष्ठमण्डप, कमलपोखरी, दरबार हाइस्कूल, वडाहरुमा भएका ऐतिहासिक वहाः वही, मठमन्दिर, चैत्य, विहार, गुठी घर, द्यःछें जस्ता १५० भन्दा बढी सम्पदाको पुनःनिर्माण गरिसकिएको छ ।
ती भौतिक सम्पदासँग सांस्कृतिक, सामाजिक र धार्मिक गतिविधि सम्बन्धित रहेका र त्यसलाई चालचलन चलाउन आवश्यक पर्ने परम्परागत जात्रा पर्व सञ्चालन गर्ने, यसका लागि आवश्यक पर्ने बाजागाजा, नाच, वेशभूषा, खाना तथा चलनलाई लोप हुन नदिनका लागि विशेष ध्यान दिइएको उहाँले बताउनुभयो ।
प्रमुख शाक्यले थप्नुभयो, “महानगरले सम्पदा क्षेत्रमा वार्षिक एक अर्बभन्दा बढी रकम विनियोजन गर्ने गरेको छ, ‘सांस्कृतिक सहर, काठमाडौँ महानगर’ को नारालाई सार्थक बनाउन कला, भाषा, साहित्य, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन, निर्माण एवं पुनः निर्माणको कामलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेका छौँ ।”
महानगरपालिकाले महानगरभित्र मात्र नभई उपत्यकाभित्रका अन्य नगरपालिका र भगिनी सम्बन्ध भएका विभिन्न नगरका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरुको विकास तथा संरक्षणमा सहकार्य र साझेदारी गर्दै यथासम्भव सहयोग गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकासलगायतका काम भएको छ ।
उहाँले निर्वाचित हुनुअघि नै कार्यान्वयनमा आएका योजनालाई लिएर आलोचना गर्ने काम भएको पनि जानकारी दिनुभयो । रानीपोखरी पुनःनिर्माणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै प्रमुख शाक्यले यहाँको पुनःनिर्माणको काम आफू प्रमुख भएर आउनुअघि नै सुरु भएको उल्लेख गर्नुभयो । क्रमागत रूपमा चलेका योजनालाई निरन्तरता मात्र दिएका उहाँले स्पष्ट पार्नुभयो ।
“रानीपोखरीसँगै सञ्चालनमा रहेका सबै योजनाका विषयमा सरोकारवालासँग छलफल गर्न खुल्ला थियौँ, जसले हाम्रो आलोचना गरे, उनीहरुले कहिल्यै पनि वास्तविकताका विषयमा सोधेनन्, केवल बाहिर कुरा मात्र गरिरहे”, उहाँले दुखेसो पोख्नुभयो । नेपालको संविधानले मुलुकको मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदा, भाषा आदिको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय मूर्त एवं अमूर्त कला, संस्कृति, सम्पदा, भाषा, लिपि, सङ्गीतको संरक्षण एवं सम्वद्र्धन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्राप्त छ । रासस