काठमाण्डौ स्थित गोकर्णेश्वर नगरपालिकामा वडा नं. ३ को नव निर्मित वडा कार्यालय भवन उद्घाटन भएको छ । तीन तले आधुनिक र सुविधासम्पन्न नव निर्मित वडा कार्यालय भवन एक करोड तेत्तिस लाखको लागतमा बनेको हो भनें सीसीक्यामरा समेत जडान भएको छ ।
नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले नव निर्मित वडा कार्यालय भवन उद्घाटन गर्दै नगरपालिकाकै पहिलो वडा भवन उद्घाटन भएकोमा खुसी व्यक्त गर्नुभयो ।
नगरपालिकामा ९ वटै वडा निर्माणको अन्तिम चरणमा रहेकोले ५ वर्षे कार्यकालको अन्तसम्ममा सबै वडाले आफ्नै सुविधा सम्पन्न नयाँ भवनबाट काम गर्ने विश्वास व्यक्त गर्दै नगरपालिकाको विकासमा आम नगरबासीले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो ।
भवन निर्माण सकिए पछि गत वर्षबाट नयाँ भवनको तल्लो तलाबाट सेवा दिंदै आएको वडाले निर्माण सम्पन्न भएपछि पुरै भवन प्रयोग गरी अब व्यवस्थित र छिटोटरितो सेवा दिने वडा अध्यक्ष राजेन्द्र भण्डारीले बताउनु भयो ।
कार्यक्रममा उपमेयर शान्ति नेपाल, नगर प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं. १ का अध्यक्ष राम मानन्धर, वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का अध्यक्ष रमेश अर्याल, प्रमुख सल्लाहकार दीपक रिसाल, समाजसेवी भावना ठकुरी, नेपाली कांग्रेसका नगर सभापति कुमार लामा, गोकर्णेश्वर नगर खेलकुद संयोजक सञ्जय लामा लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिती रहेको थियो । यसैगरी, कार्यक्रम सञ्चालन स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष जयराम विष्टले गर्नुभएको थियो ।