पूर्णप्रसाद मिश्र / कोरोना सङ्क्रमणको तेस्रो लहर बढेपछि माघ पहिलो सातादेखि बन्द गरिएका राजधानीका सङ्ग्रहालय खुल्न थालेसँगै सम्पदास्थलमा चहलपहल देखिन थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार सङ्ग्रहालय फागुन १ गतेदेखि खुलेको छ । सङ्ग्रहालयमा २५ जनाभन्दा धेरैको समूह आए विभाजन गरेर प्रवेश गराउने र २५ जनाभन्दा कमलाई एकै समूहमा प्रवेश गराउन थालिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । फागुन १ गते १८६ जना नेपाली र १० जना विदेशी नागरिकले सङ्ग्रहालय अवलोकन गरेको कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।
यसैगरी फागुन २ गते १८५ जना नेपाली र आठ जना विदेशी नागरिकले सङ्ग्रहालयको अवलोकन गरेका छन् । सङ्ग्रहालय खुलेसँगै भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या पनि दैनिक बढ्न थालेको छ । फागुन ३ गते १९५ जना नेपाली र १३ जना विदेशी नागरिकले हनुमानढोका दरबार क्षेत्रका साथै सङ्ग्रहालय भ्रमण गरेका छन् ।
राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालयलगायत पनि खुलेका छन् । सबै सङ्ग्रहालयमा स्वास्थ्य मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै प्रवेश गराइएको छ । मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । २५ जनाभन्दा धेरैलाई एकैपटक प्रवेश दिइएको छैन ।
नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ । बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारकमा मङ्गलबार भने आधा दिनमात्र खुला गरिन्छ । हनुमानढोका दरबार हप्तामा सातै दिन खुला गरिन्छ । सार्वजनिक बिदाका दिन पनि हनुमानढोका दरबार क्षेत्र खुला हुने गरेको छ । दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ । दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा पनि अवलोकनका लागि खुला गरिएको छ ।
महानगरले तिरेन हनुमानढोका दरबार हेरचाह अड्डालाई शुल्क
हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढवर्षदेखि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन । महानगरसँग सम्झौता भएअनुसार रु तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशकसमेत रहनुभएका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख खनालले जानकारी दिनुभयो ।
महानगरले पैसा नदिएपछि सङ्ग्रहालयले पनि गत भदौदेखि टिकट काट्न सुरु गरेको छ । सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले रु ३०० र नेपालीले रु ३० को टिकट काट्नुपर्छ । विद्यार्थीलाई भने सहुलियतस्वरुप रु १५ मा प्रवेश गराइन्छ । महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको रु एक हजार शुल्क विदेशीसँग लिने गरेको छ ।
गद्दी बैठकमा प्रदर्शनीसहित सर्वसाधारणका लागि खुला गरिने
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले यसै महिनादेखि गद्दीबैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी गर्ने भएको छ । यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो ।
नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापनाका विभिन्न घटना क्रमका तस्बिरको प्रतिलिपि प्रदर्शनीमा राख्ने तयारी भएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि माघ पहिलो साता सरकारले राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै माघ दोस्रो साता खुला गर्न लागिएको गद्दी बैठक पनि रोकिएको थियो । यो प्रदर्शनीसँगै गद्दीबैठक पनि सर्वसाधारणका लागि खुला गर्ने कार्यालयको तयारी छ ।
सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको जनाइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दीबैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो । भूकम्पसँगै बन्द रहेको गद्दीबैठक यसपटक खोल्न कार्यालय तयारी पूरा गरेको छ । पृथ्वीवीर विक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्न गद्दीबैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दीबैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्नेस्थलका रुपमा उपयोग हुने थालेको थियो ।
गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसँग समन्वय गरेर गद्दी बैठक खुला गर्न लागिएको हो । गद्दी बैठकसँगै फोटोग्राफर दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिच्नुभएका १०० वर्षभन्दा पुराना तस्बिर पनि प्रदर्शनीमा राखिने भएको छ । गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि प्रजातन्त्र स्थापना एवं पुनःस्थापना कालका कागजपत्र, दस्तावेज पनि प्रदर्शनी गरिने जनाइएको छ ।