गोकर्णेश्वर नगरपालिकामा सार्बजनिक सुनुवाई कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा वेब बैँक नेपालको मिडिया संयोजकत्वमा भएको सार्वजानिक सुनुवाई कार्यक्रममा नगरपालिकाका मेयर सन्तोष चालिसे, उप मेयर शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, नगर प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडाका जनप्रतिनिधिहरु, स्थानीय तह तथा नगरपालिकाका कर्मचारीहरु, बुद्धिजीवी,पत्रकार समाजसेवी स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकाको बृहत्तर बिकास निर्माणमा वितेका ४ बर्ष अत्यन्तै स्वर्णिम रहेको र मुलुकका अन्य नगरपालिकाको तुलनामा गोकर्णेश्वर नगरपालिकाले उल्लेखनीय रुपमा प्रगती गति एक नम्बरको नमुना नगरपालिका हुन सफल भएको भएको बताए।बार्षिक २ अर्व ८ करोडको हाराहारीमा रहेको बार्षिक बजेट प्रभावकारी तरिकाले परिचालन गर्न सफल भएको जानकारी गराउदै कार्यक्रममा सहभागीहरुमा उठेका प्रश्नहरुको जवाफ दिदै नगरमा भएका गतिविधिहरुका बारेमा सम्पूर्ण विवरण प्रस्तुत गरेका थिए । नगरप्रमुख चालिसेले ६० करोड राजस्व संकलनको लक्ष्य रहेको र उक्त सोच सहि समयमा पूर्ण गर्ने प्रतिवद्धता ब्यक्त गर्दै हालसम्म ३० प्रतिशत बजेट खर्च भइसकेको र बाँकी खर्च पनि सहि समय भित्रै परिचालन हुने जानकारी गराए थिए ।
कुल १ लाख ५७ हजार जनसंख्या रहेको नगरपालिकामा डिजिटल प्रोफाइल निर्माण गरी, पहिलो नगरपालिका जसले नेपालमै स्थानीय पाठ्यक्रम निर्माण गरी एक नमुना कार्य गर्न सफल भएको जानकारी गराएका थिए ।पहिलो बर्षको बार्षिक बजेट करिब ७ करोडमा सीमित रहेकोमा ४ बर्षको अवधिमा वृद्धि गर्दै २ अर्व ८ करोडको अवस्थामा पुग्नु सबैभन्दा महत्वपूर्ण उपलब्धी रहेको जानकारी गराएका थिए भने सेवा प्रवाह, कर्मचारी सवलीकरण तथा नतिजामा आधारित कार्य योजनामा विशेष जोड दिदै आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउने कुरामा विशेष ध्यान दिनुपर्ने आवस्यकता रहेको प्रमुख प्रशासकीय अधिकृत बैकुन्ठ सापकोटाले बताएका थिए। त्यसैगरी कार्यक्रममा नगर प्रवक्ता एवं वडा अध्यक्ष मनोज कुमार ढुंगानाले निकट भबिस्यमा नगरपालिकाबाट प्रदान गरिने सेवा तथा विकास योजनामा जनताको प्रत्यक्ष चासो तथा सरोकार राख्ने कार्यमा सार्वजानिक सुनुवाई कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका थिए। कार्यक्रमको संयोजन तथा सहजकीकरण मुकुन्द ढुंगाना तथा द्रोण पराजुलीद्वारा गरिएको थियो।कार्यक्रममा आफ्नो मन्तब्य राख्दै उप मेयर शान्ति नेपालले युवा स्वरोजगार, महिला उद्यमशीलता तथा न्यायिक सम्पादनको बिषयमा नगरपालिकाले महत्वपूर्ण उपलब्धी हासिल गरेको जानकारी गराएकी थिईन।
कार्यक्रममा बाटो निर्माण तथा मापदण्ड, ढलनिकास, शहरी विकास, विभुतिको शालिक तथा पार्क निर्माण, नगरपालिका भवनको शिल्यान्यास,फोहोरमैला प्रशोधन मेसिन लगायतका बिषयमा स्थानीय निकायको विशेष चासो सहित उपस्थितले गरेका सवालहरुलाई स्पष्ट जवाफ दिइएको थियो।