मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ । उहाँ आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहनुभएको छ ।
उहाँकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला पर्नुभएको छ । ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक औषधि उपचार गर्न ललितपुर पाटन अस्पताल पुग्नुभएका शाही आर्थिक समस्यामा बल्झिनु भएको छ । ऋण सापट गरिल्याएको पैसा काठमाडौँ जाँदा बाटोमै सकिएपछि शाहीलाई श्रीमतीको उपचार गर्न सास्ती भएको हो ।
“पैसा छैन डाक्टरले यो औषधि किन्नु प¥यो त्यो औषधि किन्नु प¥यो भन्न थाल्छन्” शाहीले फोनमा कुरा गर्दै भन्नुभयो, “ऋण सापट गरिल्याएको पैसा सकियो, कसरी औषधि किनेर श्रीमतीलाई बचाऔँ ?।” अस्पतालको शय्यामा श्रीमतीको मुख हेर्दै रुनुबाहेक अरू कुनै उपाय नभएको उहाँ सुनाउनुहुन्छ ।
काठमाडौँ उपत्यकामा श्रीमतीको औषधि उपचार तथा आफैँलाई बिहान–बेलुका छाक टार्नसमेत मुस्किल परेको शाहीले बताउनुभयो । बिरामी श्रीमती बोकेर उहाँ गत मङ्सिर २३ गते घरबाट बाजुराको कोल्टी हँुदै नेपालगञ्ज पुग्नुभएको थियो । त्यहाँ केही दिन आफन्तको डेरामा बसेर शाहीले श्रीमतीको उपचार गराउनुभएको थियो ।
काठमाडौँमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेपछि शाही श्रीमतीसहित बस चढेर पुस अन्तिम साता काठमाडौँ पुग्नुभएको हो । उहाँका आफन्तले पाटन अस्पतालमा श्रीमतीलाई भर्ना गरिदिए । आर्थिक अभावले उहाँको उपचार कठिन बन्दै गएको छ । पाटन अस्पतालको तीन तलामाथि आइसियुमा शाहीकी श्रीमती उपचाररत हुनुहुन्छ । बाहिर ढोकामा शाही खर्च नहुँदा छट्पटाइरहनुभएको छ । काठमाडाँैमै लामो समयदेखि ज्यालादारी काम गर्दै आउनुभएका शाहीका छोरीज्वाइँ पनि अहिले अस्पातलमै साथमा रहनुभएको छ । तर उहाँको पनि शाहीकै जस्तै अवस्था छ ।
आमाको अवस्था नाजुक हँुदै गएपछि छोरा बृजन पनि पाटन अस्पताल पुग्नुभएको छ । “ऋण काढ्ने् कहिँकतै ठाउँ छैन, घरमा कोही जागिरे छैनन्, कृषि कर्म गरी जीवन निर्वाह गर्दै आएकाले उपचार खर्च जुटाउन सम्भव छैन”, बृजनले फोनमा भन्नुभयो । श्रीमती र आफ्नो सामाजिक सुरक्षा भत्ता जम्मा गरेर शाही काठमाडौँ उपचार गर्न जानुभएको हो ।