मकवानपुर- बागमती गाउँपालिका १ स्थित सूर्य माध्यमिक विद्यालयमा १६६ जना प्रतियोगी विद्यार्थी तीन दिने फ्रेन्डसीप क्याम्प आइतबार सम्पन्न भएको छ ।
सूर्य स्काउट ट्रुपको संरक्षक एवं सूर्य माविका प्रधानध्यापक रत्नबहादुर राईको अध्यक्षता,स्थानीय पालिका स्काउट संरक्षक एवं बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा समापन भएको थियो।कार्यक्रममा बागमती प्रदेश स्काउट सदस्यहरु महेन्द्र राना र सौरभ अधिकारी, वडा सदस्य काजिमान भोलन, स्काउटर नरेश अवाले, चन्द्रबहादुर थापा, हर्कबहादुर राई, डोरबहादुर थापा, रोवरहरु अनिल आचार्य, जोन पहाडी, स्काउट शिक्षकहरु राजकुमार राई, किशोर श्रेष्ठ, देवेन्द्र गोपाली, मिना महर्जन, पदमबहादुर बडुवाल लगायतको आतिथ्य रहेको थियो । क्याम्पमा सूर्य मावि बागमती १, सुनौला मावि थाहा १, जनकल्याण मावि थाहा ३, देवकी मावि बागमती ५ र बागमती मावि बागमती २ गरी पाँच विद्यालयबाट छात्रा ८२ र छात्र ८४ जना गरी १६६ जना विद्यार्थी सहभागी रहेका थिए।
तीन दिने क्याम्पमा टनेल, वाकिङ अन द ब्याम्बो, टच द टार्गेट, टायर क्रसिङ, बिम क्लाइम्बिङ, सुपर म्यान, ओमेगा जम्प, मंकी ब्रिज, टायर चिम्नी लगायतका नौं प्रकारका साहसिक खेलहरुको अभ्यास गराईएको थियो । विभिन्न प्रतियोगिताहरु मध्ये नटिंगतर्फ देवकी स्काउट ट्रुप प्रथम, सूर्य स्काउट ट्रुप दोस्रो र सुनौला स्काउट ट्रुप तेस्रो भए । नृत्य प्रतियोगितामा जनकल्याण स्काउट ट्रुप प्रथम, सुनौला स्काउट ट्रुप दोस्रो र सूर्य स्काउट ट्रुप तेस्रो भए । हाजिरीजवाफ प्रतियोगिता र मार्च पासमा सुनौला स्काउट ट्रुपले प्रथम स्थान हासिल गर्न सफल भयो ।
गाउँपालिका अध्यक्ष घलानले विद्यालयस्तरमा स्काउट संचालन गर्न आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउदै ‘स्काउटलाई पालिका भरिका विद्यालयमा पुर्याउन आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि पालिकाको तर्फबाट गर्नुपर्ने आवश्यक कार्य गर्न हामी तयार छौ ।’ स्काउटको महत्व सबै क्षेत्रमा रहेको भन्दै उनले नेपाल स्काउट र प्रदेश स्काउटबाट विद्यालयहरुमा नियमित तालिमहरु संचालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा विशिष्ट अतिथि एवं बागमती प्रदेश स्काउटका सदस्य एवं सचिवालय सदस्य अशोक सारु मगरले कोभिडको संक्रमणले प्रभाव नपारे प्रदेश स्काउटबाट चरणबद्ध रुपमा तालिमहरु संचालन गरिने जानकारी दिएका थिए भने कार्यक्रमको सहजीकरण प्रमोद राईले गरेका थिए ।