बुद्ध जन्मस्थल लुम्बिनीमा भित्र्याइएका विद्युतीय बस सञ्चालनमा आउन ढिलाइ भएकाले त्यसै ‘थोत्रिने’ जोखिम बढेको छ ।
लुम्बिनी विकास कोष परिसरमा पार्किङ गरेर राखेको झण्डै १ वर्ष भइसकेको छ ।
गाडी सञ्चालनमा नआउँदै मर्मतमा लाखौं रकम सकिएको छ तर यी गाडी कहाँ, कसले र कसरी चलाउने भन्ने अझै टुंगो लागेको छैन ।
लुम्बिनी क्षेत्रको प्रदूषण कम गर्न र वातावरणमैत्री साधन सञ्चालन गर्ने योजनासहित ५ वटा ठूला बस र १४ ट्याक्सी भित्र्याइएको हो । १३ करोड लागतका यी साधन भित्र्याउँदा ३ करोड भन्सार बुझाइएको छ ।
‘कहिलेदेखि सञ्चालन हुन्छ भन्न सकिने अवस्था छैन,’ लुम्बिनी विकास कोषका प्रमुख सूचना अधिकृत डा. हरिध्वज राईले भने ।
विद्युतीय यातायातका साधन सञ्चालनका लागि लुम्बिनीमा चार्जिङ स्टेसन तयार छ । साधन नचल्दा स्टेसन समेत प्रयोग नहुँदै थोत्रिएको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत बस र ट्याक्सी लुम्बिनी भित्र्याइएका हुन् । यी साधन अहिलेसम्म विकास कोषको स्वामित्वमा आएको छैन ।
यसअघि लुम्बिनीमा ल्याउने भनिएका बस साझा यातायातले खोसेको भन्दै चर्काे आलोचना भएको थियो तर अहिले लुम्बिनीमै बस आउँदा समेत सञ्चालन गर्ने विषय जटिल बनेको छ । संघीय, प्रदेश र स्थानीय सरकार बस सञ्चालनमा आनाकानी गरिरहेका छन् ।
लुुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले विकास कोष आफैंले बस सञ्चालन गर्न कठिन हुने बताउँछन् । स्थानीय र प्रदेश सरकारले सञ्चालनमा अरुचि देखाएका छन् ।
‘निजी कम्पनीमार्फत बस सञ्चालन गर्ने मोडालिटी बनिसकेको छ । अब छिट्टै मन्त्रालय हस्तान्तरण गर्ला । अनि सञ्चालन हुन्छन्,’ उनले भने ।
अहिले विकास कोषको बसपार्क नजिकै साधनहरू पार्किङ गरिएका छन् । त्यहीँ चार्जिङ स्टेसन बनेको छ । जसका लागि सोलार प्लान्ट जडान भएको छ । यहाँ जडान गरिएको सोलार पावरहाउसबाट १५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । चार्जिङ स्टेसनबाट एकै पटकमा १३ सवारी साधन चार्ज गर्न सकिने बनाइएको छ । अहिले त्यहाँ १४ वटा साना गाडी र ५ वटा बस रहेका छन् । बसहरू पूर्ण वातानुकूलित र अपाङ्गमैत्री छन् । ढोकाहरू स्वचालित छन् । बसमा १९ र ट्याक्सीमा ५ सिट छन् ।
विद्युतीय भएकाले बस र ट्याक्सी आवाजरहित छन् । एक पटक फुलचार्ज गरे ४०० किलोमिटरसम्म गुड्ने प्राविधिकहरू बताउँछन् ।
यी साधन पर्यटक लक्षित छन् । विमानस्थलबाट पर्यटकलाई सिधै लुम्बिनी, देवदह, रामग्राम र कपिलवस्तु आउजाउमा प्रयोग हुने सूचना अधिकारी डा. राईले बताए । यी साधन सञ्चालनमा आएपछि थप्ने योजना समेत बनाइएको छ ।
कोरोना महामारीका कारण समेत विद्युतीय बस सञ्चालनमा ढिलाइ भइरहेको विकास कोषले जनाएको छ । लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी भने अनुदानमा पाएका साधन सञ्चालनमा विलम्ब गर्न नहुने बताउँछन् ।
पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले लुम्बिनीमा पर्यटकको सहजता र वातावरण प्रदूषण हुनबाट रोक्नका लागि भए पनि बस सञ्चालनमा ल्याउनुपर्ने बताए । ‘विद्युतीय ठूला बसहरू चलाउँदा लुम्बिनीमा पर्यटकहरूको रौनक नै फरक देखिन्छ,’ उनले भने ।
लुम्बिनी क्षेत्रमा अहिले स्तरीय बस सञ्चालनमा छैनन् । जसले गर्दा पर्यटकले सास्ती भोग्ने गरेका छन् । लुम्बिनी क्षेत्रमा अहिले २० वर्षभन्दा पुराना साधन समेत चलाउने गरिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।