एकतले साँघुरो घरमा गुजारा गर्दै आएका उस्तै उमेरका छोराछोरीलाई हुर्काउँदैछन्, टेकबहादुरका दम्पती । धवलागिरि गाउँपालिका–३ मुनाका टेकबहादुर परियार र उहाँकी पत्नी कमला सक्षम छैनन् । वाक अपाङ्गता भएका उनीहरु गाउँमा अरुलाई काममा सघाउने र मागेर घरखर्च चलाउने गर्छन् ।
आर्थिक अवस्था नाजुक भएकाले परियार दम्पतीका छ छोराछोरीलाई अहिले पढाइका लागि खर्चको अभाव भएको छ । पाँच छोरा र दुई छोरीमध्ये जेठी छोरी मनुले पढ्नै नापाइ सानै उमेरमा विवाह गरेपनि अन्य पाँच भाइ र एक बहिनी स्कुले उमेरकै छन् । मुनास्थित धवलागिरि आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने जेठा छोरा खिमबहादुरले बाबाआमाको नियमित आम्दानी नभएको र आफूहरुले पनि काम गर्नसक्ने नहुँदा पढाइखर्च जुटाउन धौधौ भएको बताए । ‘‘घरमा बुबाआमाले केही कमाइ नै गर्न सक्नुहुन्न, हामी स्कुल आउँछौँ, घरखर्च चलाउन पनि समस्या छ, हामी जेनतेन स्कुल आउने गरेका छौँ, माइलो भाइले बिचैमा स्कुल छोड्यो, हामीले पनि कहिलेसम्म पढ्ने हो निधो छैन,’’–उनले भने ।
खिमबहादुरका भाइ मनेले दुई कक्षामा अध्ययन गर्दागर्दै स्कुल छाडेका हुन् । बहिनी जमुना कक्षा ४, भाइ कुसल कक्षा २ र सङ्गीन बालकक्षामा पढ्छन् । कान्छो भाइ इसान घरमै आमासँग बस्छ । विपन्न र अपाङ्गता समेत रहेका अभिभावकले बालबच्चाको सामान्य लत्ताकपडा र स्टेशनरी खर्चसमेत जुटाउनसक्ने अवस्था नभएकाले उनीहरुको पढाइमा असर पर्ने देखिएको विद्यालयका सहायक प्रधानध्यापक रुपेश सुवेदीले बताउनुभयो ।
‘‘अभिभावक शिक्षित नहुँदा धेरै बालबच्चा जन्माउने तर आधारभूत शिक्षाको अवसर दिन नसक्ने अवस्था आएको देखिन्छ, घरपरिवारको अवस्था दयनीय छ, कम्तीमा सबै बालबच्चालाई राम्रो शिक्षा दिन सकियो भने उनीहरुको भविष्य अन्धकार हुने थिएन, त्यसका लागि यो परिवारलाई सहयोगको खाँचो छ’’– उहाँले भन्नुभयो ।
बालबच्चाको वार्षिक रुपमा शैक्षिक सामग्री, लत्ताकपडालगायत खर्च जुटाउन सके बिचैमा स्कुल छाडेका अन्य बालबालिकालाईसमेत स्कुलमा ल्याउन सकिने भएकाले विद्यालयले परियारका बालबच्चाको शिक्षामा सघाउन आह्वान गरेको प्रअ मनबहादुर पुनले बताउनुभयो ।