नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको सफलताको कामना गर्दै नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गरेका छन् । माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले दाहालकै नेतृत्वमा संविधानसभाबाट संविधान बनेको भन्दै प्रशंसा गरेका छन् ।
दाहालको राजनीतिक योगदानको चर्चा तथा प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले भने, ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान गर्नुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौं । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो, पछिल्लो चरणमा दाहालले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’
नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको छ: शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका छन् । महासचिव पोखरेलले एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठन भएको नेकपाको एकता विभिन्न कारणले जोगाउन नसकिएको बताए ।
‘एमाले र माओवादीबीच एकीकरण गर्ने सोच सही थियो तर विभिन्न कारणले एकता जोगिएन । एकता जोगाउन नसकेकोमा पछुतो छ,’ महासचिव पोखरेलले भने ।
उनले अब वामपन्थी आन्दोलनको समीक्षा गर्नुपर्ने बताउँदै भने, ‘के अहिले वामपन्थी आन्दोलन सही बाटोमा हिँडिरहेको छ ? अब नयाँ सोच, नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्छ ।’
नयाँ म्यान्डेटका साथ वामपन्थी आन्दोलनलाई अगाडि बढाउन अब आउने नेतृत्व सफल हुने विश्वास उनले व्यक्त गरे । उनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानको मामिलामा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिन जरुरी रहेको बताए ।
‘एउटा बलियो वामपन्थी शक्ति बनाउने उद्देश्यका साथ एउटै घोषणापत्रमा चुनाव लड्यौं र एउटै पार्टी बनाउन नेकपा गठन ग¥यौं’ उनले भने, ‘त्यो एकतालाई कायम राख्न सकेनौं, एकताका लागि इमानदार प्रयास थिए, ऐतिहासिक आवश्यकता थियो, त्यो एकता जोगाउन नसकेकोमा पछुतो छ ।’
अहिलेसम्म वामपन्थी दलहरू अधिकारका मामिलामा राम्रो गरेर अघि बढेको भए पनि त्यसपछि गर्नुपर्ने कार्यमा चुकेको टिप्पणी उनले गरेका छन् । अब नेताहरूको अन्तर कलहका आधारमा नीति बनाउन नहुने उनको भनाइ थियो ।
जनतामा जाने काम प्रतिगमन नभएको भन्दै उनले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई-दुईपटक संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको कामको बचाउ गर्दै उनले निर्वाचनमा जान खोज्नु प्रतिगमन नभएको जिकिर गरेका छन् ।
उनले हालसम्म राज्यमा भएको उपलब्धि कुनै एक दलले दिलाएको उपलब्धि मात्र नभएको पनि बताए । १२ बुँदे सहमति दोस्रो जनआन्दोलन संविधान निर्माण र संघीयताको विजारोपण सामूहिक प्रयासमा भएको उनले बताए । राजधानी दैनिकमा खबर छ ।