दोहा कतार - कतारमा स्थापित तीन किराती संस्थाहरु किरात राई यायोक्खा शाखा कतार, सुनुवार सेवा समाज शाखा कतार र किरात याक्थुङ चुम्लुङ कतारको संयुक्त आयोजनामा किरात मूल समारोह आयोजक समितिले विगतका बर्षहरुमा झै किरातीहरुको महान चाड साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम – ५०८१ यहि मिति १७ डिसेम्बर २०२१ शुक्रवारको दिन सहानियाको अलदोसरी पार्कमा मनाउन लागेको छ ।
कोरोनाको महामारी पश्चात केहि सहज परिस्थिती भएको हुदा सुरक्षाको मापदण्ड अपनाउदै यस बर्ष पनि किरात मूल समारोह आयोजक समितिका संयोजक चक्रिय प्रणाली अनुसार किरात राई यायोक्खा शाखा कतारको अध्यक्ष शंकरमान राईको संयोजकत्वमा, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुस्वतम सुनुवारको प्रमुख आतिथ्यमा तथा उप संयोजकहरु सुनुवार सेवा समाज शाखा कतारका का.वा. अध्यक्ष शेर बहादुर सुनुवार र किरात याक्थङ चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लिम्बु साथै कतार स्थित विभिन्न सामाजिक संघ सस्थाहरु, समाजसेवी, व्यवसायी, बुद्धिजीविहरु लगायत कतारमा रहेका किराती दाजुभाई तथा दिदि बहिनीहरुको उपस्थितिमा शुभकामना आदानप्रदान तथा किरातीहरुको मौलिक सांकृतिक झाकी लगायत स्थानीय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुतिको साथ मनाउने भएका हुन ।
किरातीहरु प्रकृति पुजक हुन, यिनीहरुका हरेक चाड तथा संस्कार संस्कृतिहरु प्रकृति सगै जोडिएको हुन्छ । ति मध्ये उधौली चाड एक महान चाड हो । जसलाई किरात राई समुदायले साकेला उधौली, सुनुवार समुदायले रापावा श्यादर पिदार र लिम्बु समुदायले चासोक थाङ्नाम भन्ने गर्दछ । आदिम कालमा किराती पुर्खाहरुले अन्न बालीको खोज गरि बालि लगाउने बेला र उठाउने बेलालाई सिजनको रुपमा मान्न थालियो ।
दुई सिजन मध्ये बैशाख महिना यानकी गर्मीको समयमा अन्न बालि लगाउने सिजनमा लगाएको बालि सप्रियोस भनेर भूमिको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जिब जनावारहरु गर्मीको कारण उगो लेक तिर जाने, खोलाको माछाहरु पनि उगो खोलाको सिर तिर चढ्ने भएको हुदा यस लाई उभौली चाडको रुपमा मान्ने गरिएको छ । त्यसै गरि अर्को सिजन मंसिर महिना यानकी जाडोको सिजनमा अन्न बालि भित्र्याउने समयमा पाकेको बालि आफु खानु अघि पितृहरुलाई चढाउदै पितृको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जिब जनावारहरु जाडोको कारण तल बेसी तिर झर्ने, खोलाको माछाहरु पनि तल झर्ने भएका हुदा यस लाई उधौली चाडको रुपमा मान्ने गरिएको हो ।
त्यसैले यो मंसिरे पुर्णिमाको सिजनमा अन्न बालीहरु भित्र्याउने समय परेको हुदा यति बेला किरातीहरुले आफ्नो पितृहरुलाई फेदाङ्बा / नछुङ् राखेर पितृ पुजा गर्दै न्वागी खाने र ढोल झ्याम्टा बजाउदै साकेला सिली / धान नाच / श्यादरसिल नाचदै धुम धामका साथ मनाउने चलन छ ।