ए कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
एमालेको १०औं महाधिवेशनमा १०, ११ र १२ मंसिरमा चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।
एमालेको महाधिवेशन मिति नजिकिँदै गर्दा पदाधिकारी र केन्द्रीय सदस्य को हुने चर्चासमेत सुरु भएको छ । महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत गर्ने दाबी हुँदै गर्दा नेताहरूले विभिन्न पदमा आफ्नो दाबी पेस गरिरहेका छन् । यही जोडघटाउ र रस्साकस्सीबीच १०औं महाधिवेशनबाट १५ पदाधिकारीमा कोको आउने भन्ने सर्वाधिक चर्चाको विषय बनेको छ ।
अध्यक्षमा ओलीकै निरन्तरता
एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने निश्चित भएको छ । नवौं महाधिवेशनमा कक्षा नदोहो¥याउने उद्घोष ओलीले गरेका थिए । तर, ओली समूहमा रहेका नेताहरूले एमालेमा ‘ओलीको विकल्प’ नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दाबी गरिरहेका छन् ।
वरिष्ठ उपाध्यक्षमा को ?
एमालेमा अध्यक्षपछिको महत्वपूर्ण पद वरिष्ठ उपाध्यक्ष हो । वरिष्ठ उपाध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् । उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य रामबहादुर थापाले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् ।
एमाले स्रोतका अनुसार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलको भित्री चाहना सर्वसम्मत रूपमा वरिष्ठ उपाध्यक्ष पाउनका लागि हो । वरिष्ठ उपाध्यक्ष पद पाएको अवस्थामा ओलीसँग उनी प्रतिस्पर्धा गर्ने छैनन् । ओलीबाट उनले वरिष्ठ उपाध्यक्षको ग्यारेन्टी खोजेका छन् तर ओलीले ग्रिन सिग्नल अझै दिएका छैनन् ।
महासचिव पोखरेलले १०औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । सर्तसहित अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका पोखरेलको भित्री चाहना नै वरिष्ठ उपाध्यक्ष पाउनु हो । पोखरेलको सर्त ओली अगामी महाधिवेशनमा अध्यक्षमा नलडे आफूले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने बताएका थिए । खासमा उनले ओलीपछिको पोर्टफोलियो खोजेका छन् ।
दुईपटक लगातार महासचिव भइसकेका पोखरेल एमाले विधानअनुसार पुनः महासचिव हुन पाउनेछैनन् । त्यसैले उनी ओलीले अध्यक्षमा चाहना नराखेको अवस्थामा आफू सो पदका लागि प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश दिइसकेका छन् । ओलीकै चाहनाअनुसार पोखरेल वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष हुने निश्चित छ । तर, उनको चाहना ओलीपछिको पोर्टफोलियो अर्थात् वरिष्ठ उपाध्यक्ष नै हो ।
वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी हुन् रामबहादुर थापा । पूर्वमाओवादी केन्द्रबाट एमाले भएका उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तोकिएका थापाले अहिलेसम्म अध्यक्ष ओलीबाट साथ सहयोग पाउँदै आएका छन् ।
उपाध्यक्षमा पराजित हुनेको पनि दाबेदारी
एमालेको विधानअनुसार अगामी महाधिवेशनबाट चार जना उपाध्यक्ष चयन हुनेछन् । नवौं महाधिवेशनबाट पाँच जना उपाध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्ष वामदेव गौतम राजीनामा दिइसकेका छन् । अर्का उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि सो पद खाली छ ।
अहिले उपाध्यक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली रहेका छन् । यी तीनै जना नेता पूर्वनेपाल–खनाल समूहका हुन् । शाक्य र ज्ञवाली पुनः उपाध्यक्षमै दोहोरिन खोजेका छन् । ओली समूहका नेताहरू सुवासचन्द्र नेम्वाङ, लालबाबु पण्डित, किरण गुरुङ, टोपबहादुर रायमाझीलगायतका नेताहरूले उपाध्यक्षको दाबी गरेका छन् ।
नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका पण्डित र गुरुङले नवौं महाधिवेशनमा पराजित भएको र अहिले सर्वसम्मत सो पदमा आउन खोजेका छन् । उपाध्यक्षबाट ज्ञवालीलाई आउट गर्ने सम्भावना बढी छ । आफूपक्षीय नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने सकसमा रहेका ओलीले उपाध्यक्षमा आफूले रुचाएका र विगतदेखि साथ सहयोग गर्दै आएका नेतालाई ल्याउनेछन् ।
यस्तै, वरिष्ठ उपाध्यक्ष र महासचिवको दाबी गर्ने नेताहरू सो पदमा अटाउन नसकेको अवस्थामा उनीहरूलाई उपाध्यक्षको जिम्मेवारी दिनुपर्ने हुन्छ । यस्तो अवस्था उपाध्यक्षमा नयाँ अनुहार आउने सम्भावना बढी नै रहेको छ । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।