काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवशनमा आफ्नो समूह निर्माणका लागि छलफल सुरु गरेका छन्। मंसिर २४ का लागि तोकिएके १४औं महाधिवेशनले नयाँ नेतृत्व मात्र छनोट गर्ने भएपछि सोमबार आफ्नै निवास बूढानीलकण्ठमा निकटहरूको भेला राखेका हुन्।
जिल्ला,प्रदेश हुँदै केन्द्रसम्म आफ्नो समूहका नेताले जित्नुपर्नेमा जोड दिंँदै सहभागी नेताले प्रदेश सभापतिसहित पदाधिकारी र केन्द्रमा पनि आफ्नो समूह तत्काल घोषणा गर्नुपर्नेमा जोड दिएका छन्। भेलाको सुरुमा महामन्त्री पूर्णबहादुर खड्काले आफ्नो समूहबाट १४औं महाधिवेशनमा सभापतिको एक मात्र उम्मेदवार वर्तमान सभापति शेरबहादुर देउवा रहेको धारणा राख्दै उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा भने आकांक्षी धेरै रहेको भन्दै अजेन्डा पेस गरेका थिए।
संस्थापन समूहकै नेता एवं पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। तर, खड्काले त्यस विषयलाई निकट भेलामा नराखेपछि सहभागी श्रेष्ठले आफू सभापतिको दाबेदार रहेको भन्दै देउवालाई सरकार सञ्चालन गर्न र पार्टी नेतृत्वमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। विगतमा आफूले देउवालाई सहयोग गरेको भन्दै श्रेष्ठले सभापतिका आकांक्षीबीच छलफल गरेर सहमति खोज्न पनि आग्रह गरेका थिए।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदको लोभ गर्दा एमाले अध्यक्ष केपी ओली अहिलेको अवस्थामा पुगेको भन्दै श्रेष्ठले सभापति देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बन्न सुझाएका थिए। ‘तपाईं मोदी जस्तै सफल प्रधानमन्त्री बन्नुहोस्,’श्रेष्ठलाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘पार्टी अध्यक्ष नभए पनि प्रधनमन्त्रीमा मोदीलाई सबैले मानेकै छन्। तपाईं त सभापति पनि भइसक्नुभयो अब सभापति मलाई छाडिदिनुस्।’
देउवाले छाडे उपसभापति निधिले पनि आफूलाई सहयोग गर्ने श्रेष्ठले दाबी गरेका थिए। तर, जवाफमा देउवाले सभापतिको प्रत्यसी बन्ने सबैलाई अधिकार रहेको बताउँदै १४औं महाधिवेशनमा आफूलाई सहयोग गर्न पुनः आग्रह गरेका थिए।
पदाधिकारीको आकांक्षी धेरै हुँदा व्यवस्थापनमा कठिनाइ भएको देउवाले सुनाएका थिए। खुला सहमहामन्त्री थपका लागि प्रयास भइरहे पनि नेता रामचन्द्र पौडेल त्यसका लागि तयार नरहेको उनले निकटसँग बताए। दुई उपसभापतिका लागि देउवा समूहबाट वर्तमान उपसभापति विजयकुमार गच्छदार,महामन्त्री पूर्णबहादुर खड्का आकांक्षी छन्।
अर्का उपसभापति निधि र पूर्वउपसभापति श्रेष्ठलाई पनि सोही पदमा देउवा समूहले राखेर हेरेको छ। तर, निधि सभापतिकै उम्मेदवार बन्ने पक्का छ भने श्रेष्ठ सभापति उम्मेदवार नबने सदस्यमा मात्र उम्मेदवारी दिने बताउँदै आएका छन्।
त्यस्तै, दुई महामन्त्रीका लागि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गरीसकेका छन्। सहमहामन्त्री प्रकाशशरण महतका साथै नेताहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउँदसहितका नेता आकांक्षी छन्।
खुला सहमहामन्त्री पदको व्यवस्था नभए पनि कल्स्टरका आधारमा आठ सहमहामन्त्रीको विधानमा व्यवस्था गरिएको पदमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, रमेश रिजाल,गोविन्द भट्टराई, महालक्ष्मी उपाध्याय,मानबहादुर विक, भिष्मराज आङ्दम्बेसहितका दर्जन बढी नेता आकांक्षी छन्।
मंसिर पहिलो साता उम्मेदवारी घोषणा
सभापतिसहित संस्थापन पक्षले मंसिर पहिलो साता प्रदेशदेखि केन्द्रसम्मको टिम घोषणाको तयारीमा जुटेको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बसेको निकट नेताहरूको बैठकले १४औं महाधिवेशनअन्र्तगत हुने सातै प्रदेशको सभापति तथा पदाधिकारी र केन्द्रीय कार्यसमितिको टिम मंसिर पहिलो साता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।
मंसिर १६ र १७ गतेका लागि तोकिएको सातै प्रदेशको अधिवेशनमा आफ्नो समूहबाट सभापतिसहित पदाधिकारी मंसिर ६ गतेअघि नै घोषणा गर्ने उनीहरूको तयारी छ। त्यसका लागि सभापति देउवाले सात प्रदेशका सात नेतालाई जिम्मेवारी तोकेका छन्। उनीहरूले सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितका नेताहरूसँग छलफल गरेर प्रदेशको उम्मेदवार तोक्नेछन्।
प्रदेशको सभापतिसहितको टिम निर्माण गर्न संस्थापन पक्षले प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ मा विमलेन्द्र निधि र रमेश रिजाल, बागमतीमा प्रकाशशरण महत,गण्डकीमा गोपालमान श्रेष्ठ र सुरेन्द्र पाण्डे, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही, सुदूरपश्चिम प्रदेशमा एनपी साउँद र रमेश लेखकलाई जिम्मेवारी दिइएको छ।
सभापतिसहितका पदाधिकारीमा प्रदेशमा सहमति जुट्न नसके त्यसको निर्णय गर्ने अधिकार सभापति देउवालाई नै दिएको छ। सहमति जुट्न नसकेका प्रदेशमा भने सभापति देउवाले मंसिर ६ गतेपछि मात्र उम्मेदवार तोक्नेछन्।
मंसिर ६ गतेअघि नै सबै प्रदेश सभापति र पदाधिकारी तोक्नु पर्ने सहभागी नेताहरूले सुझाएका थिए। तर, मंसिर ६ गते बाँकी जिल्लामा क्षेत्रीय अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको र त्यसअघि उम्मेदवारी घोषणा गर्दा नकारात्मक असर पर्ने बताउँदै बैठकमा सहभागी एक नेताले भने, ‘सहमति जुटेका प्रदेशमा आफ्नो समूहको उम्मेदवार घोषणा गर्ने र सहमति जुट्न नसकेका ठाउँमा त्यसपछि (मंसिर ६) सभापतिजीले तोक्नुहुन्छ। उहाँलाई नै अधिकार दिइएको छ।’
प्रदेशको पदाधिकारी टुंगिएलगत्तै केन्द्रीयमा आफ्नो समूह घोषणा गर्ने उनीहरूको निष्कर्ष छ। समूह घोषणामा ढिला गर्दा महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न कठिन हुने भन्दै सहभागीले मंसिर १० गतेभित्र केन्द्रीय सभापतिसहितको उम्मेदवारी घोषणा गर्नुपर्ने सुझाएका छन्।
सभापति देउवाले पनि सोहीअनुसारको तयारीमा जुट्न नेताहरूलाई आग्रह गरेका छन्। जिल्लादेखि प्रदेश हुँदै केन्द्रीयसम्मको परिणाम आफ्नो पक्षमा पार्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहसँगको सहकार्यलाई नेताहरूले जोड दिएका छन्।
बैठकमा सहभागी केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले १४औं महाधिवेशनमा संस्थापन समूह(शेरबहादुर देउवा) कसरी अघि बढ्ने भन्ने विषयमा सामान्य छलफल र भेघाट भएको जानकारी दिए।‘शेरबहादुर देउवासहित समूहलाई कसरी १४औं महाधिवेशनमा निर्वाचित गराउने भन्ने विषयमा निकट साथीहरूसँग सामान्य कुरा भएको हो,’ उनले भने।
यो समाचार आजको नागरिक दैनिकमा छ ।