मिथिला क्षेत्रमा लोक आस्थाको महान पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार रातिदेखि निराहार व्रत बसेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठपर्व सम्पन्न गरेका हुन् ।
छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान मिथिला क्षेत्रमा ६ बजेर २० मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ । यद्यपि मिथिला क्षेत्रमा आज बिहान मौसम सफा भएको हुँदा छठका वर्तालुले झलमल्ल पारिला घाम झुल्केको देखेपछि अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् । यसअघि वर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका थिए ।
पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका वर्तालुले राति सख्खरमा पकाइएको खिरमात्र खाएका थिए । वर्तालुले ३६ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठपर्व समापन हुन्छ । यसपाली गत आइतबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबाअरबाइन’ विधिबाट सुरु भएको छठमा वर्तालुले क्रमशः चौथिका दिन ‘नहाय–खाय’ पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन निराहार व्रतकैबीच साँझपख अस्ताउदो सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए ।
आज बिहान अघ्र्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी वर्तालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरैप्रसाद खाने÷ ख्वाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्यू (घीउ) मा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी÷चेली (छोरी, दिदीबहिनी, फुपु), मित÷मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।
मिथिलामा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’ (छठको कोसेली) भनिन्छ । यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएकोमध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ । केही दशकअघि मिथिला क्षेत्रको मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनेको छ । मुलुकको राजधानी काठमाडाँैं, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ ।
पाहाड–मधेसको सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडपर्व साझा बन्दै गएका छन् । राष्ट्रिय एकताको भावन अझ मजबुत बन्न÷ बनाउन यसले मद्दत गरेको मैथिल वुद्धिजीवी बताउँछन् ।