जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा सनातन वैदिक हिन्दू, बौद्ध, किराँत, बोन, जैन, शिख, प्रकृतिपूजकलगायत नेपालका मौलिक धार्मिक सम्प्रदायको सहृदयता सम्मेलन आयोजना गरिँदैछ ।
कात्तिक २५ गते बिहीबार झापा जिल्लाको बिर्तामोडमा राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन २०७८ को आयोजना गर्न लागिएको हो । समन्वय, सामञ्जस्य र सहृदयताको सम्बन्ध निर्माण गर्ने उद्देश्यले विसं २०७४ देखि प्रत्येक वर्ष राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आयोजना हुँदै आएको छ । यो सम्मेलन अघिल्ला वर्षमा काठमाडौँमा आयोजना गरिँदै आएकामा यो वर्षको कार्यक्रम पहिलोपटक मोफसलमा गर्न लागिएको हो ।
सम्मेलनको उद्घाटन नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराज र जरोकिलो महाअभियानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले गर्नुहुने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । सम्मेलनमा नेपालका मौलिक धार्मिक सम्प्रदाय सम्बद्ध गुरु, लामा, अध्येता, अभियानकर्मी आदिको सहभागिता रहनेछ ।
यस पटकको राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन जरो किलो प्रतिष्ठान नेपाल, राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल र सनातन धर्म महासङ्घ नेपालको आयोजनामा हुँदैछ । सहआयोजकका रूपमा सहृदयता समाज नेपाल र युगनिर्माण महिला समाज नेपाल रहेको जनाइएको छ ।