२०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रको वामगठबन्धनतर्फको साझा उम्मेदवार बनेर चारै जना सांसद निर्वाचित भएका थिए । रौतहट–३ बाट प्रभु साह, अर्घाखाँची–१ बाट टोपबहादुर रायमाझी, कैलाली–३ बाट गौरीशंकर चौधरी र कैलाली–४ बाट लेखराज भट्ट निर्वाचित भएका थिए ।
अब हुने उपनिर्वाचनबाट यी चारवटै क्षेत्रमा कुन दलका उम्मेदवार विजयी हुनेछन् रु यतिकै भन्न सक्ने अवस्था छैन । किनकि, अहिले वामगठबन्धन छैन, फुटेको छ । माओवादीबाट विजयी सांसद नै एमाले प्रवेश गरेकाले माओवादी यी चारै क्षेत्रमा कमजोर बनेको छ । गत निर्वाचनमा अत्यन्तै उत्साहजनक नतिजा ल्याएको एमाले समेत अहिले कमजोर अवस्थामा छ । एमाले फुटेर एकीकृत समाजवादी गठन भएकाले एमालेको साख पहिलाको जस्तो छैन ।
अर्को कुरा, वामगठबन्धन भत्केर अर्को गठबन्धन बनेको छ । पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा छन् । तर, माओवादीले जितेको यी चारै सिट माओवादीले नै पाउने कि गठबन्धनमा आबद्ध दलले भागबन्डा गर्ने स्पष्ट भइसकेको छैन ।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले आगामी आमनिर्वाचनसम्म पाँच दलीय गठबन्धन रहने भन्दै आएका छन् । तर, सत्ताको नेतृत्व गरेको दल कांग्रेसका केही प्रभावशाली नेताहरूले अगामी निर्वाचनमा गठबन्धन नहुने प्रस्ट संकेत गरिसकेका छन् । उनीहरूले गठबन्धन आमनिर्वाचनसम्म रहन्छ भन्ने कुरा बोल्नुभन्दा कांग्रेस एक्लै चुनावमा सहभागी हुने अभिव्यक्ति दिँदै आएका छन् ।
अहिलेको अवस्था विश्लेषण गर्दा वामगठन्धन फुटेकाले कांग्रेस बलियो अवस्थामा रहेको छ । त्यसैले कांग्रेसले निर्वाचनमा गठबन्धनको आश्यकता महसुस गरेको छैन । राजधानी दैनिकबाट