उस्मान फाउण्डेशन नेपालका सचिव अलाउद्दिन मियाँले राजिनामा दिएका छन्।
स्पाइनल मस्कुलर एट्रोफी नामक बिमारीबाट गत भाद्र ११ गते निधन भएका ९ महिने बालक मुहम्मद उस्मान अलीको लागि विश्वभरबाट उठेको सहयोग रकमको स्वामित्व लिंदै गत असोज ४ गते दर्ता गरिएको उस्मान फाउण्डेशन नेपाल नामक संस्थाको सचिव पदबाट उनले राजिनामा दिएका हुन्।
सामाजिक सन्जाल फेसबुकमा हस्तलिखित राजिनामा पत्र सार्वजनिक गर्दै उनले राजिनामा दिएको जानकारी दिएका छन्। राजिनामामा उनले " विभिन्न कारण" ले सचिव पदमा रहन असमर्थ रहेको जनाएका छन्।
राजिनामा दिनुको स्पष्ट कारण पत्रमा न खुलाएपनि मियाँले समाजिक फाउण्डेशनको वकालत गर्दै आएका थिए। उस्मान अलीका बुबाले आफ्नै परिवारका सदस्यहरुलाई समितिमा समेटेर नितान्त पारिवारिक फाउण्डेशन बनाएको कुरामा उनको शुरुदेखी नै विमत्ती रहँदै आएको बुझिएको छ।
दर्जनौं पिडितहरुले उपचारको लागि सहयोग गर्न निवेदन दिएका तर फाउण्डेशनले चाँसो नदेखाएको गुनासाहरु धेरै आउन थालेपछि सचिव पदबाट राजिनामा दिने अवस्थामा पुगेको मियाँका नातेदारले बताए।
उस्मान अलीको उपचारको लागि बैंक खातामा करीव ६० लाख जम्मा भएको र त्यही रकम मार्फत आर्थिक अभावको कारण उपचार गर्न नसकेका व्यक्तिहरुलाई सहयोग गरिने उस्मानका बुबाले बताएका थिए।
आफ्नो ४ वर्षको छोरा मुहसिन मियाँलाई ई विङ्ग सार्कोमा नामक क्यान्सर भएको र उसको उपचारमा आफुले करीव ३३ लाख खर्च गरिसकेको र बाँकी उपचारको लागि करीव ३० लाख अझै खर्च लाग्ने र उक्त खर्च धान्न सक्ने अवस्था नभएको भन्दै मुहसिनका बुबा जलाल दिन मियाँले उस्मान फाउण्डेशनका अध्यक्ष तथा उस्मान अलीका बुबासँग बाँकी उपचारको लागि पटकपटक आर्थिक मद्दत मागेका थिए। तर फाउण्डेशनबाट सहयोगको प्रतिवद्वता न आएपछि उनले नेपाल मुस्लिम समाज सेवा समिती शुक्लागण्डकी तनहुँ र युनाईटेड ईस्लामिक क्लबलाई आर्थिक सहयोग अभियान चलाई दिन अनुरोध गरेका थिए।
मुस्लिम समाज र युवा क्लबले मुहसिनका बुबाको अनुरोध अनुसार सहयोगको लागि भनेर अपिल गरेपछी सामाजिक सन्जालमा उस्मान फाउण्डेशनको खोजी हुन थालेको छ।