प्रदेश नं १ सरकारको पहिलो संरचना प्रदेश भवनको निर्माण कार्य सम्पत्र भई आज उद्घाटन भएको छ । विसं २०७७ असोज १ गते शिलान्यास भएको सो भवन रु दुई करोड ५१ लाख ८१ हजारमा स्वामी नारायण निर्माण सेवा प्रालि धरानले बनाएको हो ।
भवनमा फर्निचरमा रु १६ लाख ६३ हजार, साउण्ड सिस्टममा रु १६ लाख ४३ हजार र आन्तरिक सजावटमा रु १७ लाख ७७ हजार थप खर्च भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । सातौँ अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न ठेक्का पाएको निर्माण कम्पनीद्वारा निर्मित सो भवनमा यही असोज २२ गतेदेखि प्रदेशसभा नवौँ अधिवेशन सञ्चालन हुन गइरहेको छ । करिब ३०० मानिस अट्ने क्षमता भएको सभाहल सुविधा सम्पन्न वातानुकूलित छ ।
प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश सभाहलको उद्घाटन गर्दै संसद् जनताको आवाज बोल्ने थलो भएको बताउनुभयो । उहाँले जनताको आवाज र मागबारे जनप्रतिनिधि सांसदहरूले छलफल गर्ने थलो संसद् भवनले जनताको समस्या समाधान गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले संविधानको प्रतिकूल हुने कुनै पनि काम नगर्ने भन्दै देश बनाउन र जनताको काम गर्न सहमतिको सरकार बत्रुपर्ने धारणा राख्नुभयो । उहाँले नेकपा एमाले पार्टीको आगाडि संसद्मा सबै दल होचै भएकाले लोकतन्त्रको सुदृढीकरण राष्ट्र सार्वभौमसत्ता रक्षा गर्न सबै एकजुट भएर लाग्नुपर्ने सुझाउनुभयो । सबै दलहरु अल्पमतमा नै रहेको बेलामा कसलाई नेतृत्व हस्तान्तरण गर्ने प्रतिप्रश्न गर्दै मुख्यमन्त्री आचार्यले लडाइँ झगडा गर्नुको साटो मिलेर गइयो भने देश र समाजको विकास गर्न सकिने कुरामा जोड दिनुभयो ।
सभामुख प्रदीपकुमार भण्डारीले विचार, कानून र बहस गर्ने संसद् भवनको निर्माणले यस प्रदेशमा सदन चलाउन सहज भएको बताउनुभयो । उपसभामुख सरस्वती पोखरलले संसद् भवनको अभावमा सभा सञ्चालन गर्न विगतमा भएका कठिनाइ दूर भएको विचार राख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादव र प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले नयाँ भवनले सांसदलाई जनताको काम गर्न उत्साह र जाँगर प्रदान गर्ने बताउनुभयो । सोही अवसरमा जिल्ला समन्वय एकाइ मोरङका संयोजक नरेशकुमार पोखरेल र प्रदेशसभा सचिव गोपालप्रासद पराजुलीले पनि भवन उपादेयता बारेमा चर्चा गर्नुभएको थियो ।