धनबहादुर भण्डारी : डडेल्धुरा: दलित समुदायको पुस्तौँदेखिको डोको डालो बुन्ने पुख्र्यौली पेशा कच्चा पदार्थको अभावमा सङ्कटमा पर्न थालेको छ । बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामाग्री नपाउँदा उनीहरुको पेशा सङ्कटमा परेको हो ।
बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । तिलाडी, समैजी मुद्राड, अमरगढी नगरपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा यही पेशाका भरमा जीविकोपार्जन गर्दै आएको उक्त समुदायको पेशा सङ्कटमा पर्दै गएको छ । “बाँस र निगालो पाउन छाडेपछि आय आर्जनको बाटो बन्द भएको छ”, अमरगढी नगरपालिका–७ पोखरा गाउँकी मङ्गली कैनीले भन्नुभयो, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएको उहाँले पीडा सुनाउनुभयो ।
अहिले दलित समुदायले बाँस र निगालो खोज्न विभिन्न वन जङ्गल चहार्नु परिरहेको छ । एक दिन हिँडेर अजयमेरुको खतेडा जङ्गलबाट निगालो काटेर ल्याउनुपरेको कैनीले बताउनुभयो । “एक भारी निगालो रु पाँच सयमा खरिद गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय बेला निगालो र बाँसका लागि दुई दिनको बाटो हिँड्नु पर्छ ।” टाढा टाढासम्म धाएर पनि बाँस र निगालो खोज्न जाँदा पनि नपाउने गरेको पीडा कैनीसँग छ ।
मेहनत र परिश्रमअनुसारको आम्दानी नहुँदा पनि दलित समुदाय पीडित बन्नुपरेको छ । त्यसैले उनीहरु वैकल्पिक पेशा रोज्न थालेका छन् । टाढाबाट कच्चा पदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्च अनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको छ । “घरायसी सामग्रीको बजारमा माग भए पनि कच्चा पदार्थको अभावले सामग्री तयार गर्न सकेको छैन”, समैजी गाउँका जित पार्कीले भन्नुभयो । वन अतिक्रमणको समस्याका कारण पनि पछिल्लो समय बाँस र निगालो पाउन छाडेको छ ।
दलित समुदायले बाँस र निगालोको चोयावाट बन्ने प्रतिडोकोलाई रु पाँच सयदेखि रु सात सयसम्म बिक्री गर्ने गरेका छन् । यस्तै डालो, भकारी, मानो र नाङ्लो रु चार सयदेखि रु तीन हजार पाँच सयसम्ममा बिक्री गर्दैआएका छन् । दलित समुदायका युवा बाँस र निगालोको अभावका कारण यो पेशा छाड्न बाध्य छन् । निर्माण गरिएका सामग्री बिक्री गर्न बजारको समेत अभाव छ । नजिकका गाउँवस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भएपनि उचित मूल्य पाउन सकेका छैनन् । पछिल्लो समय बाँस र निगालोबाट निर्माण गरिएका सामग्री अभावका कारण धातु र प्लाष्टिकबाट निर्मित सामग्री प्रयोग गर्ने चलन बढ्दै गएको छ ।