मुग्लानी खबर माघ २९
हिन्दू धर्मशास्त्रअनुसार भगवान् शिव नै सांसारिक सुखहरूको आधार हुनुहुन्छ । उनै आराध्यदेव शिवशंकरको पूजा गर्दै महाशिवरात्रि पर्व मंगलवार धुमधामका साथ मनाइँदैछ ।
फाल्गुन कृष्ण त्रयोदशीको उपलक्ष्यमा मनाइने महाशिवरात्रि पर्व वैदिक कालदेखि नै मनाइँदै आएको मान्यता छ । यस पर्व तथा व्रतको पालन देवी लक्ष्मी, सरस्वती, गायत्री, सीता, पार्वती र रतिले विधिवत रूपमा गरेका थिए ।
महाशिवरात्रि शिवशक्तिको मिलनको पर्व हो । महाशिवरात्रिकै दिनमा सबै ज्योतिर्लिंगहरूको प्रादुर्भाव भएको थियो । शास्त्रानुसार, सर्वप्रथम ब्रह्मा र विष्णुले महाशिवरात्रिमा शिवलिंगको पूजन गरेका थिए । त्यही दिन शिव उत्पत्ति हुनुभएको हो ।
महाशिवरात्रिको उपासनाले तन, मन तथा धनसम्बन्धी सबै कामना पूर्ति हुन्छ । दुःख, दरिद्रता तथा धनको अभावलाई हटाएर धन, सन्तान तथा निरोग दिएर व्यक्तिलाई सम्पन्न र वैभवशाली बनाउँछ महाशिवरात्रिले ।
मंगलवार महाशिवरात्रिमा रात्रि जागरण, पूजन र व्रतपालन गरिन्छ । मंगलवार बेलुका ६ बजेर २० मिनेटदेखि ९ बजेर ३५ मिनेटसम्म प्रदोषकाल पूजन मुहूर्त रहन्छ ।
सन्धिकाल पूजन मुहूर्त राति सबा १० देखि सबा ११ सम्म रहन्छ । त्यतिखेर त्रयोदशी र चतुर्दशी तिथिको मिलन हुन्छ । निशीथ काल पूजन मुहूर्त राति १२ बजेर २४ मिनेटदेखि १ बजेर १६ मिनेटसम्म हुनेछ ।
विशेष पूजन विधि
शिवरात्रिको प्रदोष कालमा शिवलिंगमा जल, दूध, बेलपत्र र नैवेद्य चढाउनुस् । अनि धूप, दीप, चन्दन, फूल, अक्षता, धतूरो, बेलपत्र र नैवेद्य चढाउनुस् । पञ्चोपचारले पूजा गर्नुस् र चन्दनको मालाले विशेष मन्त्रको एक माला जप्नुस् । पूजापश्चात् नैवेद्य सबैलाई बाँड्नुस् ।
पूजन मन्त्र
ऊँ श्रीं शितिकण्ठाय नमः शिवाय श्रीं ।।
निरोगी शरीर चाहनुहुन्छ भने शिवलिंगमा मह चढाउनुस् ।
धन अभावबाट मुक्ति चाहनुुहुन्छ भने शिवलिंगमा चढाइएको सिन्दूरले घरको मूलद्वारमा श्रीं लेख्नुस् ।