ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पुरुष सरह पूर्णरूपमा महिलाले पनि अधिकार प्राप्तिका लागि मुलुकमा रहेको पितृसत्तावादलाई चिर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
पन्ध्रौँ राष्ट्रिय मानव बेचविखनविरुद्ध दिवसका सन्दर्भमा आज यहाँ आयोजित मनोरञ्जन क्षेत्रमा कार्यरत हिंसामा परेका महिलाको उद्धार तथा हकहितका लागि काम गर्ने ‘छोरी परियोजना संस्था’का संस्थापक अध्यक्ष हिरा दाहालको रचना ‘फूलमाया उपन्यास’ विमोचन गर्ने क्रममा उहाँले मुलुकका कयाँै महिला अझै पनि दमनको शिकार भइरहेको बताउनुभयो ।
त्यस्तो शिकारबाट बाहिर आउनका लागि स्वयं महिलाको सोचसमेत परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छोराको चाहनामा कयौँ फूलमायाहरुले यस धर्तीमा समेत आउने मौका नपाएकाले त्यस्तो मानसिकताको अन्त्य नभएसम्म समाज परिवर्तन हुन सम्भव छैन ।” हालको २१ आँै शताब्दीमा छोरीप्रति हेर्ने र गर्ने व्यवहार अझै पुरानो रहेको बताउँदै भुसालले क्रान्तिबिना समानतामूलक समाज निर्माण गर्न असम्भव रहेको जिकिर गर्नुभयो ।
संस्थाका अध्यक्ष दाहालले फूलमाया नेपाली समाजलाई चित्रण गरी बालविवाह, हिंसा, श्रम शोषण, बेचविखन, मजदुर महिला आदिको जीवनी र पीडालाई समेटिएर लेखिएको उपन्यास भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा दोस्रोे लहरको कोरोना महामारी बढेर एक आमाले आफ्ना सन्तानको सपना पूरा गर्न नसक्दा महसुस भएको दुःखलाई समेत उजागर गरिएको छ ।” उपन्यासले दैनिकीका रूपमा एक दिन गर्दै २८ दिनसम्मलाई उजागर गरेको उहाँले बताउनुभयो ।
उपन्यासका सम्पादक आनन्द वाग्लेले पुस्तकले मानव जीवन परिवर्तन गर्न सहयोग गर्ने बताउँदै किताब पढ्ने संस्कृतिलाई बढावा दिन जोड दिनुभयो । उहाँले भन्नुभयो, “पुस्तकालय नभएको घर निरस हुने भएकाले गृह पुस्तकालय सुरुआत गरी पढ्ने बानीको विकास गर्दा समयको समेत सदुपयोग हुनेछ ।”