भोजपुरबाट औपचारिक अध्ययनका लागि काठमाडौं आएपछि मेरो साहित्यको अध्ययन पनि अघि बढ्यो । आरआर क्याम्पसमा आईएमा भर्ना भएको थिएँ ।
त्यतिबेला म भारत र अन्य देशका अलि चलेका लेखकलाई पढ्ने र हेर्ने प्रक्रियामा थिएँ । ओशो, युजी कृष्णमूर्ति, रवीन्द्रनाथ टैगोर लगायत लेखकका कृतिहरु पढ्दै थिएँ । माक्सिम गोर्कीको ‘आमा’ पढिसकेको थिएँ । नेपालको सन्दर्भमा बिपी कोइरालाको साहित्यलाई एक ढंगले पढिसकेको थिएँ ।
त्यसबेला १७/१८ वर्षको पट्ठो थिएँ म । त्यो उमेरको मान्छे निर्माणको प्रक्रियामा हुन्छ । ऊ जीवनलाई हेर्ने दृष्टिकोण बनाउने क्रममा एउटा बाटो खोजिरहेको हुन्छ । आफ्नो जीवनलाई, जीवन दर्शनलाई कस्तो बनाउने र कता लैजाने भनेर आफैंलाई बनाउने प्रक्रियामा हुन्छ । त्यस्तो समयमा पढेको किताबले मान्छेलाई साह्रै गहिरो प्रभाव पार्छ । जीवनलाई नै परिवर्तन गराइदिन सक्छ । तर, त्यो त्यस्तो मानिस हुनुपर्यो, जसले गम्भीरताका साथ साहित्य पढ्छ र उसमा अरुबाट शिक्षा लिने चेतना हुनुपर्यो ।
त्यस्तो समयमा मैले एउटा किताब पाएँ, लेबनानका विख्यात साहित्यकार खलिल जिब्रानको ‘द प्रोफेट’ । त्यो पढ्नलाई कवि विक्रम सुब्बाले सिफारिश गर्नुभएको थियो । त्यसबेला जावलाखेलमा उहाँको पुस्तक पसल थियो । चिनियाँ, जापानी, असमिया कविहरुको कविता पनि पढिरहेको थिएँ त्यो बेला ।
सामान्यतया बाहिरी किताबहरु धेरै पढिने कलेज जाने उमेरमै हो । तर, किताब छान्न जान्ने स्थिति नभएकोले कुन राम्रो, कुन नराम्रो थाहा हुँदैनथ्यो । अरु साथीभाइले कुन-कुन पढिरहेको हुन्छ, त्यही मागेर पढिन्थ्यो । आफूले चाहेको सबै किताब किनेर पढ्न सक्ने स्थिति पनि थिएन ।
बाबु-आमा धनु हुन् भने तिनका सन्तान धनुबाट छुटेको सजीव वाण जस्ता हुन् भनिएको छ । जुन वाण अब धनुको वशमा छैन
त्यस्तो अवस्थामा जिब्रानको किताब पाउँदा मैले खुब स्वाद मानेर पढेँ । मेरो अंग्रेजी कमजोर थियो । तर, पढ्न थालेपछि अलि सरल भाषा नै लाग्यो । अप्ठेरो लागेका केही ठाउँमा डिक्सनरी पल्टाउँदै भए पनि मिहीन ढंगले पढेँ । किताबले मलाई निकै प्रभाव पार्यो । त्यहाँ जीवनको बारेमा मीठा प्रसंगहरु छन्, जसले मान्छेलाई मार्गदर्शन गराउँछ ।
गोर्कीको ‘आमा’ पढिसकेपछि मैले ‘प्रोफेट’ पढेको हुँ । तर, त्यो पढेपछि भने गोर्की भद्दा लाग्न थाल्यो । ‘आमा’ले पनि युवाहरुलाई प्रभाव त पार्छ । तर, त्यसले जीवनलाई हेर्ने एउटा आँखा मात्र दिन्छ, चेप्टो बाटो मात्र देखाउँदो रहेछ । ‘प्रोफेट’ले भने हाम्रो जीवनका सम्भावनाहरु पनि देखाइदिन्छ । स-साना कुरामा सोच्न बाध्य बनाइदिन्छ ।
त्यो किताब अहिले पढेको भए त्यति गहिरो प्रभाव पर्थ्यो कि पर्थेन । त्यसो त राम्रो साहित्यले जुनसुकै उमेरमा एक ढंगको प्रभाव पारिरहन्छ । जीवनमा धेरै किताबको प्रभाव पर्छ । तर, सानो आकारमा रहेको ‘प्रोफेट’ मेरो लागि जीवनलाई बुझ्ने तत्वहरु भइदियो ।
किताबमा एउटा प्रसंग सन्तानको बारेमा छ । त्यहाँ भनिएको छ, तिम्रा सन्तान तिम्रा आफ्ना होइनन् । जब तिमी आफ्नो छोराछोरीलाई यति पढाउँछु, यस्तो बनाउँछु भनेर आफ्नो कुरा लाद्छौ, तब तिमीले सन्तानलाई हुर्किन दिएनौ । तिमीले उनीहरुलाई निश्चित आकारमा बोन्साई गर्न थाल्यौ । तिमीले यस्तो बन् भनेर गाइड गर्नु उसलाई कमजोर बनाउनु हो ।
बाबु-आमा धनु हुन् भने तिनका सन्तान धनुबाट छुटेको सजीव वाण जस्ता हुन् भनिएको छ । जुन वाण अब धनुको वशमा छैन ।
त्यो सिम्बोलका रुपमा भनिएको कुरालाई मैले कसरी लिएँ भने, मेरो जीवन पनि धनुबाट छुटेको वाण जस्तै हो । यो जीवनलाई मैले आफैं बनाउनुपर्छ । म बा-आमाले चाहेको जस्तो होइन, आफूले चाहेको जस्तो हुनुपर्छ र आफैं बन्नुपर्छ ।
ओशोले पनि महात्मा गान्धीलाई आलोचना गर्ने क्रममा युवतीहरुलाई सम्बोधन गर्दै कतै लेखेका छन्, बा-आमाले किनिदिएको लुगा लगाएर, उनीहरुले नै बग्गीमा बसाएर आएको केटासँग बिहे गर्यौ भने तिम्रो भविष्य छैन । ऊ त सुरुमै दास भइसक्यो । बा-आमाको आडभरोसा लिएर, सामाजिक परम्परा समातेर आउने त्यस्तो केटोलाई पूर्ण मानव नै होइन भनेका छन् ओशोले । बरु जसले सोझै आएर ‘मसँग केही छैन, तर म तिमीसँग बिहे गर्न चाहान्छ’ भन्छ, त्यो केटोलाई योग्य मानेर बिहे गर्न उनले सुझाव दिएका छन् ।
प्रोफेटमा अर्को प्रसंग छ, प्रेमको । उमेरमा केटाहरुको सोच हुन्छ, एउटी राम्री केटी पट्यायो, ल्यायो र बिहे गर्यो । तन्नेरी छँदा हामीलाई पनि त्यही नै प्रेम हो भन्ने लाग्थ्यो । तर, यो किताब पढेपछि प्रेमप्रति मेरो धारणा नै बदलियो ।
प्रेम र विवाहको छुट्टाछुट्टै प्रसंग छ त्यहाँ । श्रीमान्-श्रीमतीको सम्बन्ध कस्तो हुनुपर्छ रे भने, साथ साथ उभिनु तर ज्यादै नजिक नहुनु । जसरी कुनै मन्दिर खम्बाहरु निश्चित दूरीमा अलग-अलग भएकोले सग्लो उभिएको हुन्छ, श्रीमान्-श्रीमतीबीच पनि निश्चित दूरी हुनुपर्छ भन्छन् उनी । यसको अर्थ दुवैको छुट्टाछुट्टै अस्तित्व देखिनुपर्यो ।
यो किताबमा प्रेम र विवाहदेखि सन्तान, श्रम, घर, कानुन, पीडा, मित्रता, आनन्ददेखि मृत्युसम्मका प्रसंगहरु व्याख्या गरिएका छन् । जम्मा दुई चोटि पढे पनि त्यसको छाप गहिरो गरी बसेको छ । अनेक काव्यिक हरफ छन् किताबमा । जीवनबारे धेरै तत्वज्ञानहरु भएकाले यो किताबले जीवन-जगतलाई हेर्ने मेरो दृष्टिकोण नै परिवर्तन गरिदियो ।
जिब्रान अलिक धार्मिक र अध्यात्मिक कोटिका लेखक हुन् । उनले प्रोफेटमा विविध प्रसंग व्याख्या गरे जस्तै हाम्रो पूर्वीय दर्शनमा पनि यस्ता कुरा धेरै धार्मिक ग्रन्थमा पढ्न पाइन्छ । तर, एउटा खँदिलो किताब सम्झिनुपर्दा यसैको नाम लिन रुचाउँछु ।
जुन विधामा कलम चलाए पनि दार्शनिक चेत र जीवन दर्शन भएन भने त्यो रचना लामो समय बाँच्दैन
म त काठमाडौं आउनु अगाडि पनि गाउँमा छँदै कविताहरु लेख्थेँ । ‘प्रोफेट’ पढेपछि भने मेरो लेखनमा पनि प्रभाव पार्यो । त्यसबाट मुख्य दुई वटा कुरा सिकेँ । पहिलो, लेखन सरल हुनुपर्छ, अनि मात्र प्रभावकारी हुन्छ । दोस्रो, ठूल्ठूला विषय मात्र लेखेर कविता हुँदैन, जीवनका मसिना कुरा पनि लेख्नुपर्छ ।
लेखनलाई प्रभावकारी बनाउने एउटै मात्र शर्त रहेछ, सरलता । अनन्त गहिराइबाट भावलाई ल्याएर सरलभन्दा सरल भाषामा जति व्यक्त गर्न सकिन्छ, हाम्रो लेखन त्यति जीवन्त र प्रभावकारी हुन्छ भन्ने मैले सिकेँ । जीवनका मसिना केस्रा केलाएर यसलाई हेर्ने अर्को तरिका पनि खोज्नुपर्ने रहेछ । किनभने अहिलेसम्मका लेखकले कति धेरै कुरा लेखिसके पनि संसारै लेखिसकेका त छैनन् । नलेखिएका विषय र खाली ठाउँहरु अझै छन् । त्यो ठाउँ खोज्नुपर्ने रहेछ ।
अर्को कुरा, हरेक रचनालाई दार्शनिक आँखाबाट हेर्नुपर्छ भनेर जानेँ । जुन विधामा कलम चलाए पनि दार्शनिक चेत र जीवन दर्शन भएन भने त्यो रचना लामो समय बाँच्दैन । संसारमा ठूल्ठूला लेखकहरुमध्ये त्यस्ता १०/१२ लेखकहरु छन्, जसबाट मैले आफ्नो भोक-तिर्खा मेटाएँ । एक जनाको नाम लिनुपर्दा खलिल जिब्रान आए ।
त्यो किताब पढ्न लायकको कृति हो भनेर अरुलाई पनि सिफारिश गरेको छु । पछि जिब्रानका अरु कथाहरु पनि पढेँ । त्यतिखेरको नेपाली साहित्यमा उनी प्रभाव पार्ने लेखक हुन् । तर, म उनलाई मात्र पढ्नुपर्छ भन्नेतिर लागिनँ । त्यता लागेको भए म उनको फोटोकपी हुन्थेँ । पिछलग्गु हुनबाट हरेक लेखकले बच्नुपर्छ ।
प्रत्येक लेखकसँग एउटा न एउटा राम्रो कुरा हुन्छ । त्यो चिज ग्रहण गरेर आफ्नो बाटो समाउनुपर्छ । तर, मन पर्यो भन्दैमा एकोहोरिएर लागियो भने त्यसकै प्रवक्ता मात्र भइन्छ । अन्लाईनखबरबाट