मुग्लानी खबर १८ माघ
पहिलोपटक अभिभावक बन्दै हुनुहुन्छ भने तपाईंको खुसीको सीमा हुँदैन । किनकि, पहिलो बच्चाको स्वागत तपाईंको जीवनकै नयाँ अनुभव हुन्छ ।
बच्चाका लागि थुप्रै सपना सजाउन थाल्नुहुन्छ । भविष्यको योजना तय गर्नुहुन्छ । तर, पहिलोपटक अभिभावक बन्ने सबै मानिसले कुनै न कुनै गल्ती भने गरेका हुन्छन् ।
यस्तो वेला गरेको सानो गल्तीले पनि बच्चाको स्वास्थ्य र भविष्यमा नकारात्मक असर पुर्याउन सक्छ । त्यसैले पहिलो बच्चाको स्वागतपछि यस्ता गतिविधि गर्दा उचित हुन सक्छ :
डाक्टरको सल्लाह
तपाईं पहिलोपटक अभिभावक बन्दै हुनुहुन्छ भने आफन्त र साथीबाट थुप्रै सल्लाह पाउन सक्नुहुन्छ ।
बच्चाको सुरक्षा, खानपानदेखि घरेलु उपचारसम्मका सुझाबको भारी तपाईंअगाडि उभिन्छ । तर, आफन्त तथा साथीभाइका सबै सुझाब अवलम्बन गर्दा भने समस्या पनि सिर्जना हुन सक्छ ।
त्यसैले सकेसम्म डाक्टरको सल्लाहलाई मात्र अंगीकार गर्न आवश्यक हुन्छ । अनुभवी अभिभावकबाट भने थुप्रै कुरा सिक्न पनि सकिन्छ । यसो गर्दा बच्चालाई हुर्काउन र जीवनलाई व्यवस्थित गर्न सहज हुन्छ ।
समस्या व्यवस्थापन
यस्तो वेला समय व्यवस्थापन तपाईंका लागि जटिल विषय बन्न सक्छ । समय व्यवस्थापन यसकारण महत्वपूर्ण हुन्छ कि यसले दैनिकीलाई निकै सहज बनाउन भूमिका खेल्छ । त्यसैले यस्तो वेला पार्टनरसँग कामको उचित बाँडफाँट गरेर समय व्यवस्थापन गर्न सक्नुहुन्छ ।
तपाईंले ससाना कामबाट यस्तो प्रयास गर्न सक्नुहुन्छ, जस्तै– खाना खुवाउने, कपडा चेन्ज गरिदिने आदि । अफिसको कामको बोझलाई हटाउन पनि समय व्यवस्थापन गर्न सक्नुहुन्छ ।
तपाईं घरमा हुँदा तपाईंको पार्टनर अफिसमा र पार्टनर अफिसमा हुँदा तपाईं घरमा बस्न सक्नुहुन्छ । यसो गर्दा बच्चालाई उचित संरक्षण दिन सकिन्छ ।
गल्तीबाट सिक्नुस्
पहिलोपटक अविभावक बनेका सबैले कुनै न कुनै गल्ती गर्ने गर्छन् । यसलाई त्यति ठूलो मान्नु हुँदैन । यदि यस्ता गल्ती दोहोर्याएमा भने बच्चाको स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ । त्यसैले त्यस्ता गल्तीबाट पाठ सिक्नु नै बुद्धिमानी हुन्छ ।
बच्चाका लागि बजेट
तपाईंको परिवारमा एक महत्वपूर्ण नयाँ सदस्य थपिएपछि त्यसैअनुसार बजेट व्यवस्थापन गर्न पनि आवश्यक हुन्छ । पक्कै पनि परिवारिक बजेट बढाउनुपर्ने हुन्छ ।
यसका साथै बच्चाका लागि चाहिने पौष्टिक आहार, औषधि उपचारबाहेक पनि छुट्टै बजेटको व्यवस्था गर्न सके अझ बढी उपयोगी हुन्छ ।
तपाईंले बच्चाका लागि आज खर्च गर्ने मासिक थोरैथोरै रकम मात्र पनि उसको भविष्यका लागि निकै ठूलो राहत बन्न सक्छ ।