मुग्लानी खबर १७ माघ
आफ्नै ठाउँमा केही गरौँ भन्ने उद्देश्यले वैदेशिक रोजगारीमा कतार पुगेका ओखलढुंगेलीहरूले गृह जिल्लालाई एक कार्यक्रम बिच एम्बुलेन्स उपहार दिएका छन् ।
उनीहरूले ओखलढुंगा सेवा समाज कतार मार्फत सहयोग जुटाएर एम्बुलेन्स उपहार दिएका हुन् ।
कतारमा पुगेका गैरआवासीय नेपाली र सोही ठाउँमा भएका विभिन्न संघ संस्थाबाट सहयोग रकम जुटाएर सहयोग गरिएको सेवा समाज कतारका अध्यक्ष अशोककुमार तामाङले बताए ।
९ लाख ६७ हजार लागतमा खरिद गरिएको एम्बुलेन्स ओखलढुंगा सेवा समाजको मातहतमा सञ्चालन हुने बताइएको छ जसका लागि ५ सदस्यीय सञ्चालन समिति बनाइएको तामाङको भनाई छ ।
एम्बुलेन्स जिल्ला सदरमुकामस्थित उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरियो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार, पूर्व सांसद रामहरि खतिवडा, जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ, सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ, नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवार, नेकपा एमालेका प्रतिनिधि मावर सुनुवार, माओवादी केन्द्रका प्रतिनिधि शम्भु धमला, ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, गैरसरकारी संस्था महासंघ ओखलढुंगाका अध्यक्ष सचना राजभण्डारी, ओखलढुंगा सेवा समाजका अध्यक्ष नवराज श्रेष्ठ, उपाध्यक्ष लील तामाङ, कोषाध्यक्ष कुमार तामाङ, ओखलढुंगा सेवा समाज कतारका अध्यक्ष अशोककुमार तामाङलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सुनुवार, सेवा समाज कतारका अध्यक्ष तामाङ र अन्य अतिथिहरूले एम्बुलेन्सको चाबी ओखलढुंगा सेवा समाजका अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
चाबी हस्तान्तरणपश्चात बोल्दै बक्ताहरुले प्रवासी ओखलढुंगेलीहरूले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।