हेमन्त केसी /, कोभिड–१९ को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझैं भेटघाट हुन सकेको छैन् ।
बारेकोट गाउँपालिका–५ की रमिता सिंह अहिले बारेकोटकै पाटन क्षेत्रमा पशुचौपायको हेरालुका रूपमा दैनिक काम गरिरहनुभएको छ । उहाँलाई पढाइभन्दा पशुचौपायाको माया बढी लागिरहेको छ । हातमा मोबाइल लिएर दैनिक भिडियो हेर्दै पशुचौपायाको हेरालुको जिन्दगीबाट उहाँले मुक्ति पाउन सकेको छैन् । घरका अभिभावक जङ्गलमा पाइने विभिन्न जडीबुटी सङ्कलन गर्न व्यस्त छन् । भाइ, बहिनीलाई दैनिक खाना, पशुचौपायाको स्याहारदेखि गोठको सुरक्षासम्मका कामले उहाँको दिन बितिरहेको छ ।
अभिभावक गोठमा आएको दिन सिंहलाई नायकबाडास्थित घरमा पठाएर आवश्यक खाद्यान्न ढुनानी गर्नुपर्ने अर्को जिम्मेवारी पनि आइलाग्दै आएको छ । सिंहले भन्नुभयो, “किताब राखेको झोला र मेरो भेट नभएको धेरै महिना भइसक्यो, घरको कामले गर्दा किताब हेर्ने फुर्सद नै छैन । विद्यालय खुलेका पनि छैनन् । बिद्यालयमा पास गराए कि फेल गराए, त्यो पनि थाहा छैन ।”
उहाँजस्तै अर्की जुनकुमारी सिंह पनि चौथारी लेकमा हुनुहुन्छ । उहाँलाई गोठको सुरक्षादेखि पशुचौपायकै चिन्ता छ । विद्यालय सञ्चालन भए÷नभएको बारेमा जानकारीसम्म उहाँलाई छैन । पाटन क्षेत्रमा फोन नलाग्ने भएकाले बारेकोटको बोटो हुँदै जुम्ला जाने सर्वसाधारण उहाँको गोठमा बास माग्दै आएर बसेको पाहुनाले दिएको जानकारी नै उहाँका लागि नयाँ सन्देश हुन्छ ।
दैनिक वर्षे झरी, जुकाको टोकाइ, गाईभैँसी, घोडाको हेरालुको कामले गर्दा अरु कुरा सोच्ने जुनकुमारीलाई फुर्सद छैन । उमेरले मात्र १४ वर्षकी उहाँको काँधमा घरको सबै काम गर्नुपर्ने बाध्यता छ । पाटन क्षेत्रमा भारी मात्रामा फुलेका फूलहरुसँग रम्दै, जङ्गलबाट सङ्कलन गरी ल्याइएका निगालोको टुसा र अन्य जडीबुटी, च्याउ खाँदै जुनकुमारीको भविष्य कत्ता जाँदैछ, उहाँलाई अत्तोपत्तो छैन ।
उहाँकै उमेरका विद्यार्थी इन्टरनेटको माध्यमले दैनिक नयाँ–नयाँ कुरा पढिरहेका छन् । देश, विदेशका घटनाका विषयमा छलफल, जानकार छन् । तर पाटन क्षेत्रमा रहेका विद्यार्थी कुनै सूचना, जानकारी र शिक्षा लिन पाएका छैनन् । पशुचौपायको स्याहार नै उनीहरुको मुख्य शिक्षा आर्जन गर्ने थलो बन्दै छ । अर्थावस्था कमजोर हुनुका साथै दुर्गम भएकै कारण यहाँका विद्यार्थी चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेको वीरेन्द्र हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरखहादुर सिंहले बताउनुभयो । सिंह आफैँ पनि इन्टरनेट चलाउने र मन लागेमा विद्यालय तथा गाउँपालिकाको केन्द्र लिम्सासम्म पुग्ने गरेका छन् ।
बारेकोटलगायत दुर्गमका विद्यार्थीको परीक्षा फारमदेखि अन्य काम कसले गरिदिन्छ भन्ने स्वयं विद्यार्थीलाई नै थाहा हँुदैन । त्यस्तै डोल्पाका अधिकांश विद्यार्थीको हालत पनि त्यस्तै रहेको छ । चिसो मौसममा विद्यालय बन्द गर्नुपर्ने र गर्मी मौसममा विद्यालय सञ्चालन गरेर पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यता डोल्पामा रहेको छ ।
अहिले कोभिडका कारण विद्यालय बन्द हुँदा कुनै समय पनि विद्यार्थीले पढ्न पाएका छैनन् । गाउँमा हुने विकास निर्माणको काममा मजदुरका रूपमा विद्यार्थी काम गर्न बाध्य भएको त्रिपुरासुन्दरी नगरपालिका लिकुका रामबहादुर पहाडीले बताउनुभयो । विद्यालय बन्द छन्, सरहरु कहाँ हुनुहुन्छ थाहा छैन उहाँले भन्नुभयो । आर्थिकरूपमा सवल भएको परिवारका विद्यार्थी ठूला शहरमा गएर विभिन्न माध्यमबाट शिक्षा लिए पनि गाउँमा रहेका विद्यार्थीको अवस्था बिजोग बन्दै गएको छ ।
कोरोनाविरुद्धको खोप शिक्षकलाई लगाउन शुरु गरे पनि विद्यार्थीलाई लगाएको छैन । शिक्षकलाई लगाएको खोपले विद्यार्थीहरु कसरी सुरक्षित हुन्छन् ? रुकुम पश्चिम आठबीसकोट नगरपालिका राडीका कालीबहादुर बटालाले भन्नुभयो । हामीले हाम्रो छोराछोरीलाई विद्यालय पठाउँदा कसरी पठाउने ? उहाँले प्रश्न गर्नुभयो । शिक्षक मात्र बाँचेर विद्यार्थीहरु मरुन भन्ने नीति लिएको हो कि जस्तो लाग्छ उहाँले आक्रोशित हुँदै थप्नुभयो । केही विद्यार्थीहरु घर छाडेर भारतसमेत पुगिसकेको पाइएको छ । दशैँ, तिहारमा घर फर्कने गरी भारत पुगेको सामाजिक सञ्जालमा सार्वजानिक गरिएका सन्देशबाट थाहा हुँदै आएको छ ।
हाम्रो जीवनशैली र जीवनस्तर बदल्नका लागि आर्थिकरूपमा सवल भएमा मात्र हरेक प्राविधिसँग नजिक हुन सकिन्छ । बिहान र बेलुकी के खाने, के लगाउने भन्ने चिन्ताले रुमलिने हाम्रो परिवेशबाट हुर्केको जीवनशैलीबाट संसार थाहा पाउने सपना पूरा गर्न राज्यले ठूलो लगानी गर्नुपर्ने जानकारहरु बताउँछन् ।