मुग्लानी खबर माघ ७
अक्सनमा पुग्ने पहिलो नेपाली खेलाडी बनेका सन्दिप आफ्नो ध्यान त्यता भन्दा पनि नेपाललाई कसरी डिभिजन टु जिताउने रहेको बताउँछन् ।
आइतबार बिहान टियू मैदानमा अभ्यासमा व्यस्त रहेका सन्दिप लामिछानेले भने, “सबैको सहयोगमा नाम पठाउन मिलेको हो । म त्यतातिर भन्दा पनि डिभिजन टु मा छु । मेरो फोकस नेपाललाई कसरी जिताउने भन्ने नै हो । आईपीएलमा म आबद्ध भएँ भने झनै राम्रो । नेपाललाई चिनाउने मौका अझै बढ्दै जान्छ ।”
अक्सनबाट आईपीएलमा छनोट हुन्छु जस्तो लाग्छ ? भन्ने प्रश्नमा सन्दिपले भने, “खै त्यस्तो केही भन्न सकिन्न । राम्राराम्रा खेलाडी पनि ‘सोल्ड’ हुँदैनन् । निकै उदाहरण छन् त्यस्ता । तर मेरो ध्यान आईपीएलमा भन्दा पनि नामिवियामा हुने आसन्न प्रतियोगितामा छ ।”
यता, नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले सन्दिपको नाम अक्सनसम्म पुग्नुले नेपाली खेलाडीको बाटो पनि खुलेको बताए ।
मुख्य प्रशिक्षक टमाटाले भने, “यो नेपाली खेलाडीको लागि अवसर पनि हो । नेपाली खेलाडीले आईपीएल खेल्न पाएमा नाम र दामले पनि राम्रो हुन्छ । तर, सन्दिप अक्सनबाट छानिन्छ या छानिँदैन त्यो त पछि नै थाहा हुन्छ । सन्दिपको लागि यो सबैभन्दा ठूलो अवसर पनि हो ।”
आईपीएलले शनिबार सार्वजनिक गरेको अक्सनमा पर्ने खेलाडीको सूचीमा नेपालका सन्दिप पनि अटाएका थिए । आगामी अप्रिलमा हुने आईपीएलको लागि अक्सनमा ५७८ खेलाडी परेका थिए, जसमा सन्दिप २७६ औं स्थानमा रहेका छन् । ‘अनक्याप्ड’ सूचीमा रहेका सन्दीप एसोसियटतर्फबाट अक्सनमा छानिएका हुन् ।
सन्दिपको बेस प्राइस २० लाख भारतीय रुपैयाँ रहेको छ । ११ औं संकरणको आईपिएलको अक्सन जनवरी २७ र २८ मा हुनेछ । आइपिएल अप्रिल ४ देखि मे ३१ सम्म हुनेछ ।
सन्दिप लामिछाने सन् २०१६ मा बंगलादेशमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेटदेखि उदाएका खेलाडी हुन् । उनले त्यसबेला विश्वकपमा आयरल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएका थिए । उमेर समूहमा एकपछि अर्को चर्चा बटुलेका सन्दिप २०१६ मै नेपाली राष्ट्रिय टिममा परेका थिए ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिवियासँगको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका सन्दिप त्यसयता निरन्तर राष्ट्रिय टिममा छन् ।